मेरो उम्मेदवारी पद ओगट्न नभइ काम गरेर देखाउन हो : गौरीराज जोशी

मेरो उम्मेदवारी पद ओगट्न नभइ काम गरेर देखाउन हो : गौरीराज जोशी

काठमाडौं। नेपालमा १० अर्ब लगानी भित्र्याउने परियोजना सफल पार्ने आफ्नो योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव गौरीराज जोशीले बताएका छन्।

एनआरएनएको आगामी महाधिवेशनमा महासचिवका प्रवल दावेदार मानिएका उनी सन् २००५ देखि नै गैरआवासीय नेपालीको अभियानमा संलग्न छन्।

उनले आफू पद ओगट्न नभई काम गरेर देखाउन उम्मेदवारी दिन लागेको बताए। नेपाल पत्रकार महासंघ युरोप शाखाको बहस कार्यक्रममा जोशीले एनआरएनएको भावी नीति र नेतृत्वको विषयमा प्रकाश पारेका थिए।

उनले काम भन्दा पनि प्रोपोगण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू काम गर्ने मान्छे भएको बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्धामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपील गरेका छन्।

उनले नेतृत्वमा आउने व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए।

जोशी बौद्धिक तथा युवामाझ निकै लोकप्रिय मानिन्छन्। अमेरिकामा पनि आइटी क्षेत्रमा सफल व्यवसायी मानिने जोशी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय छन्।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका प्रवेश गरेका थिए। अमेरिकामै उनले आइटीको अध्ययन पुरा गरेका थिए। पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न छन्।

उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रो लगायत विभिन्न क्षेत्रमा लगानी छ। उनले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्। यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झनै सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ।