यूएनमा भारतीय दादागिरीको मुद्धा उठाएका त्रिपाठीद्धारा कोषाध्यक्ष पदमा उम्मेदवारी

यूएनमा भारतीय दादागिरीको मुद्धा उठाएका त्रिपाठीद्धारा कोषाध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं। अमेरिकालाई आफ्नो कर्मथलो बनाउँदै आएका राजन त्रिपाठीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

गैरआवासीय नेपालीको अभियानलाई अझ् सशक्त र गर्विलो बनाउन आफूले उम्मेदवारी घोषणा गरेको त्रिपाठीले प्रवास खबरलाई जानकारी दिए।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरिसकेका त्रिपाठी सामूहिक नेतृत्वलाई हाँक्नसक्ने व्यक्तिको हाल संस्थालाई खाँचो रहेको र यसका लागि आफू उपयुक्त पात्र भएको बताउँछन्।

‘विश्वलाई नै तहसनहस बनाउने कोरोना महामारीको अन्यौलग्रस्त अवस्थामा आफ्नो समुदायको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ गरिएका प्रयासले म अझ हौसिएको छु,’ उनले आफ्नो घोषणा पत्रमा भनेका छन्, ‘गैरआवासीय नेपालीको आवाज बनेर अघि बढ्ने कुरामा मलाई ठूलो प्रेरणा मिलेको छ। यही प्रेरणा र हौसलालाई साक्षी राखेर आगामी निर्वाचनमा उम्मेद्वार बन्ने निर्णयमा पुगेको हुँ।’

भारतले नेपालको सीमा मिचेको विषयलाई लिएर उनी संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित मुख्यालयसम्म पुगेका थिए। उनले त्यतिबेला राष्ट्र संघमा नेपालबारे तथ्यपूर्ण जानकारी दिँदै सीमा मिच्नेलाई सजग गराउन दवाव दिएका थिए।

कोषाध्यक्षका रुपमा आफ्नो पहिलो एजेण्डा संस्थागत आर्थिक पारदर्शिता रहेको उनी बताउँछन्। संघका सबै निर्णय पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने आफ्नो उद्देश्य पनि रहेको उनको भनाई छ।