दुबईमा बेकरी पसलबाट चोरी गर्ने ४ जनालाई १ वर्ष जेल

दुबईमा बेकरी पसलबाट चोरी गर्ने ४ जनालाई १ वर्ष जेल File Photo

दुबई । दुबईको फोजदारी अदालतले एक बेकरीबाट २० हजार दिराम चोरीमा संलग्न भएको आरोपमा चार जनालाई कारबाही सुनाएको छ।

मुखमा मास्क (मुखुण्डो) लगाई अबु सगारास्थित एक बेकरी पसलमा चोरी गर्ने ती ब्यक्तिहरु एसियाली मुलका बताइए पनि उनीहरुको राष्ट्रियताको बारेमा खुलाइएको छैन। उनीहरुलाई अदालतले एक वर्षको जेल सजाय सुनाएको छ।

उनीहरुमध्ये एकजनाले गाडीको निगरानी गरी अन्य दुईजनाले बेकरी पसलको ढोका फोडेर भित्र पसेका थिए। त्यसपछि उनीहरुले २० हजार दिराम रहेको फलामको सेफ (पैसा राख्ने लकर), खाता, र अन्य कागजातहरु चोरी गरेका थिए। त्यसलगत्तै ती तीनजना भागेर शारजहाँस्थित एक फार्ममा पुगी चौथो व्यक्तिसँग भेट भएपछि उक्त सेफ फोडेर लुटिएको रकम एक–आपसमा वितरण गरेको पाइएको छ।

दुबई प्रहरीसमक्ष उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको, र अन्तत : सार्वजनिक मुद्दा अघि बढाइएको बताइएको छ।

यस सन्दर्भमा दुबई प्रहरी र सार्वजनिक अभियोजनले अनुसन्धान गर्दा ती व्यक्तिहरुले योजनाबद्ध रुपमा चोरी गर्ने उद्देश्यले एक संगठित आपराधिक गिरोह नै गठन गरेको तथ्य फेला पारेको बताइएको छ।



No ads found for this position