महासचिवको बलिया दावेदार जोशी भन्छन्– एनआरएनए थप बलियो भएर उठ्ने छ

महासचिवको बलिया दावेदार जोशी भन्छन्– एनआरएनए थप बलियो भएर उठ्ने छ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान सचिव गौरीराज जोशीले आपसी मतभेदलाई बिर्सिएर गैरआवासीय नेपालीको अभियानमा जुट्न सबैसँग आग्रह गरेका छन्।

एनआरएनएको आगामी चुनावमा महासचिवको बलियो दावेदार मानिएका जोशी बौद्धिक तथा युवामाझ निकै लोकप्रिय मानिन्छन्। अमेरिकामा पनि आइटी क्षेत्रमा सफल व्यवसायी मानिने जोशी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय छन्।

उनले विदेशमा बसोबास गर्ने नेपाली युवा पुस्तालाई देशको माटोसँग जोड्ने तथा आफ्ना पूर्वजको भूमिलाई समृद्धिले सिच्ने अभियान अझै पुरा भइनसकेको र आफू यो कार्यलाई अगाडि बढाउन अडिग रहेको प्रवास खबरसँगको कुराकानीमा बताए।

हाल अमेरिकाको टेक्ससमा बसोबास गरिरहेका जोशी भन्छन्, ‘गैरआवासीय नेपाली संघको पवित्र चाहना पुरा गर्ने कार्यमा हामीले हालसम्म नेपाल सरकारबाट पूर्ण विश्वास आर्जन गर्न सकेका छैनौ। जुन दिन हामी नेपाल सरकार र नेपाली जनतालाई हाम्रा पवित्र चाहनाप्रति विश्वास दिलाउन सक्नेछौ, त्यो दिन गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता र दोहोरो कर प्रणाली वा लगानी जस्ता विषय सरल र सहज हुनेछन्।’

उनले एनआरएनएमा कार्यरत आफ्ना अग्रजहरूले दोहोरो नागरिकताका लागि गरेको प्रयासको मुक्तकण्ठले प्रसंसा गरेका छन्। र, अग्रजको अभियानलाई आफूले थप बलियो बनाएर लैजाने आश्वासन दिए। ‘राज्यलाई विश्वास दिलाउन सक्नु नै आज हाम्रो चुनौतीको विषय हो। यो चुनौतीलाई हामीले कसरी सामना वा समाधान गर्छौँ, त्यसैमा एनआरएनएको महत्व र भूमिका भरपर्छ।’

उनी एनआरएनएलाई ‘यी पैसा लिएर र पैसा लिन आउँछन्’ भन्ने सोचमा परिवर्तन ल्याउन जरुरी भएको बताउँछन्। ‘यही भ्रम र सोचलाई गैरआवासीय नेपालीले तोड्नु पर्छ,’ उनी भन्छन्।

विदेशमा बस्ने नेपालीसँग प्रविधि र ज्ञानको अपार भण्डार भएको बताउँदै उनले ती सीपहरूलाई देश हितमा प्रयोग गर्न गैरआवसीय नेपालीसँग आब्हान गरेका छन्। उनी यसका लागि सरकारसँग हातेमालो गर्दै काम गर्न इच्छुक रहेको बताउँछन्।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका प्रवेश गरेका थिए। अमेरिकामै उनले आइटीको अध्ययन पुरा गरेका थिए। पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न छन्।

उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रो लगायत विभिन्न क्षेत्रमा लगानी छ। उनले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्। यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झनै सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ।

हाल सचिवमा कार्यरत रहँदा एनआरएनएलाई ‘स्मार्ट’ बनाउन उनले खेलेको भूमिकाको प्रसंसा भइरहेको छ। उनले विदेशमा समस्यमा परेका नेपालीलाई ‘गो फण्ड मी’ अभियान चलाएर सहयोग गर्दै आइरहेका छन्।

उनी ‘एनआरएनए मोबाइल ब्लड बस’ परियोजनाका संयोजक पनि हुन्। व्यस्तताका बाबजुद एनआरएनएको सामाजिक अभियानमा उनले दिने गरेको महत्वपूर्ण समयले संस्थालाई थप बलियो बनाएको छ।