चुनावमा डा. केसीको टिमलाई सघाउँछु : एनआरएनए प्रवक्ता क्षेत्री

चुनावमा डा. केसीको टिमलाई सघाउँछु : एनआरएनए प्रवक्ता क्षेत्री

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिबी क्षेत्रीले आफूहरू बधुवा मजदुरको जमानाको मानिस नभइ आफ्नो हक अधिकारका लागि लड्ने पुस्ता भएको बताएका छन्।

एनआरएनएको आगामी निर्वाचनमा उपाध्यक्ष पदका प्रत्यासी क्षेत्रीले आउँदो चुनावमा विचार मिल्ने नेतृत्वसँग मात्र कार्यगत एकता हुने बताए। उनले संघमा राजनीति हावी हुन नदिन डा. बद्री केसीको समूहलाई आफूले सघाउने बताएका छन्।

डा. केसीले अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन्। उनले डा. केसीसँग वैदेशिक रोजगारका मुद्दा, ‘हजारे अभियान’ लगायत विभिन्न उद्धार, राहतदेखि परराष्ट्र, श्रमको मुद्धामा सँगै मिलेर काम गरेको अनुभव आफूसँग रहेको बताउँदै भने, ‘खाडी मुलुकहरूमा हाम्रा जुन मुद्दा छन्, त्यसको सुनुवाइका लागि पनि डा. केसीसँग हाम्रो कार्यगत एकता हुन्छ। उहाँसँग लामो समय काम गरेको अनुभव भएका कारण उहाँले श्रमिकको मुद्धालाई राम्रोसँग सम्बोधन गर्नसक्नु हुन्छ।’

ओमनलाई कार्य क्षेत्र बनाउँदै एनआरएनए अभियानमा सक्रिय क्षेत्री श्रमिकमैत्री अभियान्ताको रूपमा परिचित छन्। उनले आगामी चुनावमा पार्टीगत ‘ह्वप’ भन्दा पनि गैरआवासीय नेपालीको हकहितमा आफ्नो विवेक प्रयोग गर्न सबैसँग आब्हान गरेका छन्।

‘हामी बधुवा मजदुर होइनौं। हामीसँग हाम्रो अधिकार छ, जुन विवेकशील ढंगले प्रयोग गर्दा एनआरएनएको साख बढ्ने छ,’ उनले भने।

नेकपा माओवादी केन्द्र निकट मानिने क्षेत्री एनआरएनएको आगामी १० औं महाधिवेशन राजनीतिक दबाबमुक्त पार्न आफ्नो पनि योगदान रहने बताए।

‘म एनआरएनएको अभियानमा राजनीतिक हस्तक्षेंपको विरोधमा छु। विदेशमा बसोबास गर्ने सबै नेपालीको साझा चौतारीको रूपमा गैरआवासीय नेपालीको अभियानलाई अगाडि बढाउनु पर्छ। यसमा मेरो विशेष भूमिका हुन्छ,’ उनले भने।