अध्ययनका लागि इजरायल पुगेका १० नेपाली फरार, इजरायली प्रहरीद्धारा खोजी

अध्ययनका लागि इजरायल पुगेका १० नेपाली फरार, इजरायली प्रहरीद्धारा खोजी

काठमाडौं। तालिम तथा अध्ययनका लागि इजरायल पुगेका १० नेपाली उतै फरार भएपछि नेपाली दूतावासले विज्ञप्ती निकालेर कडा चेतावनी दिएको छ।

तेल अविवस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै फरार नेपालीलाई तुरुन्त सम्पर्कमा आउन भनेको छ। सम्पर्कमा नआएको खण्डमा इजरायली प्रहरीको सम्वन्यमा पक्राउ गरि देश फर्काउने चेतावनी दिइएको छ।

अध्ययन र तालिममा इजरायल पुगेका आफ्नै देशका नागरिकलाई पक्राउका लागि दूतावासले विदेशी प्रहरीको सहयोग लिनु आफैमा अनौठो घटना बनेको छ।

फरार ती नेपाली इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (एमएएसएचएभी) द्वारा सञ्चालित ‘लर्न टु अर्न’ परियोजना अन्तर्गत केही समयअघि इजरायल पुगेका थिए। उनीहरूलाई ११ महिने अध्ययन तथा तालिमका लागि नेपालको साना किसान विकास बैंकले छनौट गरेको थियो। उनीहरू इजरायलको विभिन्न ट्रेनिङ सेन्टरमा अध्ययन तथा तालिममा संलग्न थिए।

दूतावासका अनुसार ‘सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टर’ बाट ४, ‘द एक्सटर्नल स्टडिज इन्टिच्युट’ बाट २, ‘अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टर’ बाट २ र एक कलेजबाट २ जना गरी जम्मा १० नेपाली सम्पर्कविहीन छन्।

अध्ययन तथा तालिमका लागि इजरायल पुगेका विद्यार्थी सम्पर्कविहिन भएपछि नेपाली दूतावासलाई पनि दबाब परेको छ। दूतावासले हाल इजरायलमा बार्षिक पाँच सय नेपाली अध्ययन तथा तालिमका लागि आउने गरेको र यो संख्यालाई भविस्यमा एक हजार पु¥याउने लक्ष्य राखिएको अवस्थामा केही नेपालीको बदमासीले दूतावासको योजना भताभूंग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

दूतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘दुई चार जनाको बदमासीले वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो। दूतावासले यो संख्यालाई बढाएर वार्षिक १ हजार पु¥याउने प्रयास भइरहेको समयमा यस्ता गतिविधिको कारणले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ।’

सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको पनि दूतावासले जनाएको छ ।

सम्पर्कविहिन भएर काम गरिरहेका नेपालीलाई इजरायली प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल पठाउन समन्वय भइरहेको दूतावासले जनाएको छ।

सम्पर्कविहिन नेपालीलाई पनि छिटो सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ।