एनआरएनए निर्वाचन : सह–कोषाध्यक्षको सफल कार्यकालपछि दाहालको कोषाध्यक्षमा दावी

एनआरएनए निर्वाचन : सह–कोषाध्यक्षको सफल कार्यकालपछि दाहालको कोषाध्यक्षमा दावी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदमा लोकप्रसाद दाहालले  उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्ष रहेका दाहालले आउँदो अक्टुबरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

बेल्जियममा व्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम शाखाको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन्। शालिन तथा भद्र व्यवहारका उनी सामाजिक अभियन्ता  हुन्।

विश्वका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरू सहभागी संस्था ‘भ्लाम्स मेडिकल’ मा कार्यकारी सदस्य नियुक्त दाहालको नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ।

उनी भन्छन्, ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्तढंगले प्रयोग गर्ने इच्छा छ। संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारीढंगले चलाउन ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु।’

उनले सह–कोषाध्यक्ष भइ कामगर्दा संघको आर्थिक पाटोलाई धेरै हदसम्म व्यवस्थित गर्न सफल भएको बताए।

‘हामीले संघको आर्थिक हिसाव–किताव व्यवस्थित गर्न एउटा ‘सिस्टम’ बनाइसकेका छौं। परिपाटी बसिसकेकोले अव काम गर्न गाह्रो पर्दैन,’ उनले भने।

यसअघि संघको आर्थिक हिसाब गोलमाल थियो। विभिन्न परियोजनाको व्यवस्थित लेखाजोखा नहुँदा संघलाई २७ करोड घाटा लागेको थियो, जुन घाटा अहिले झण्डै ११ करोडमा झरेको छ। आउँदो अधिवेशनसम्म संघको पुरानो ऋण चुक्ता भएर बचतमा जाने उनको भनाइ छ।

वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा संघको आर्थिक पाटो व्यवस्थित गर्न सह–कोषाध्यक्षको नाताले दाहालले पनि उल्लेख्य योगदान गरेका थिए।

संघले अव आपतकालीन क्षेत्रबाहेक अन्य परियोजनामा पहिले नै बजेटको लागत तयार पारेर काम गर्ने परिपाटी बनाएको छ। संस्था अव घाटामा नजाने उनको दावी छ।

संघभित्र आफ्नो जिम्मेवारी कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका दाहाल एनआरएनएमा विवादरहित अभियान्ताका रुपमा चिनिन्छन्।