एनआरएनए निर्वाचन : ‘सेभेन–स’ को एजेण्डासहित बेलायतबाट सिम्खडा सचिवको मैदानमा

एनआरएनए निर्वाचन :  ‘सेभेन–स’ को एजेण्डासहित बेलायतबाट सिम्खडा सचिवको मैदानमा

लण्डन । गैरआवासीय नेपालीहरूको अभियानमा सुरुदेखि नै सक्रिय रामशरण सिम्खडाले ‘सेभेन–स’ अभियान अघि सार्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा उम्मदेवारी दिने घोषणा गरेका छन्।

एनआरएनएमा माहिर खेलाडीको रूपमा परिचित सिम्खडा धादिङमा जन्मिएर विगत २० बर्षदेखि बेलायतलाइ कर्मथलो बनाउँदै आइरहेका छन्। उनी एनआरएनएको परिकल्पनाकालदेखि नै यो अभियानमा संलग्न छन्।

दुई कार्यकाल आइसीसी सदस्य भएर काम गरिसकेका उनी तीन पटक विधान संशोधन समितिको सदस्य थिए।

उनीसँग २७ सय बढी संघसंस्था आबद्ध रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, विभिन्न परोपकारी संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेको अनुभव छ। संघको परोपकार समितिमा सदस्य–सचिव भइसकेका उनी सन् २०११ को एनआरएनए युकेको निर्वाचनबाट महासचिव निर्वाचित भएका थिए।

प्रवास खबरसँगको कुराकानीमा उनले विगतको आफ्नो अनुभवलाई प्रत्यक्ष रूपमा एनआरएनए अभियानमा लगाउन आफ्नो उम्मेदवारी भएको बताएका छन्।

उनी भन्छन्, ‘म २००५ देखि युके र अन्तर्राष्ट्रिय परिषद्मा प्रत्यक्ष सहभागी छु। नयाँ पुस्ताले यथास्थितिमा मात्र विश्वास गर्दैन, पुरानै भावभंङ्गीले उनीहरूलाई आकर्षित गर्न सक्दैन। राज्यले अहिले जे डेलिभरी दिइरहेको छ, सोभन्दा सयौंगुणा बढी अपेक्षा राखेको छ। यी सबै आकांक्षा पुरा गर्न मैले केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।’

उनी एनआरएनएमा अव व्यापक परिवर्तन महसुस भएको बताउँछन्। वर्तमान कार्यसमितिले नीतिगत सुधारको थालनी गरेको भन्दै यसलाई मूर्तरूप दिन पनि आफू जस्तो अनुभवी व्यक्ति संघमा हुनुपर्ने आवश्यकता बोध भएर साथीभाईले चुनावमा उठ्न प्रेरित गरेको उनको भनाइ छ।

उनले आफ्नो चुनावी अभियानका लागि ‘सेभेन–स’ अभियान अघि सारेका छन्। जुन यस प्रकार रहेको छः

१. साझा एनआरएन

२. सक्षम र सबल एनआरएनए

३. शुल्करहित एनआरएनए

४. स्मार्ट एनआरएनए

५. सीप, ज्ञान र नवप्रबर्धन सहित दीगो एनआरएनए

६. सरोकारवालाहरुसंगको भरपर्दो सहकार्यको एनआरएनए

७. सबैको पहुंच सहित उत्तरदायी र पारदर्सी एनआरएनए