राजनीतिक हस्तक्षेपभन्दा पनि संस्था बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्छः महेश श्रेष्ठ

राजनीतिक हस्तक्षेपभन्दा पनि संस्था बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्छः महेश श्रेष्ठ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनैतिक हस्तक्षेंप मुक्त हुनुपर्ने र गैरराजनीतिक मुलक संस्थाको छवी जोगाउन आफू क्रियाशील रहेको वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले बताएका छन्।

एनआरएनएको आगामी निर्वाचनमा उपाध्यक्षका उम्मेदवारसमेत रहेका श्रेष्ठले संस्थाको हित चाहने र क्षमतावान नेतृत्व आउनुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघ, युरोप शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘यो प्यानल, त्यो प्यानलभन्दा पनि संस्थामा राम्रो व्यक्ति आउनुपर्छ भन्ने हो। म संस्था बुझेका र काम गर्न सक्ने क्षमतावान मान्छे आउनुपर्छ भन्ने पक्षमा छु।’

उनले एनआरएनए सबैको साझा संस्था भएकोले एजेण्डा पनि सबैको साझा हुनुपर्ने बताए। ‘संस्थामा राजनैतिक विचार भएका मान्छे अटाउन हुँदैन भन्ने होइन। आउनुपर्छ । तर, यहाँ (एनआरएनए) आइसकेपछि राजनीतिक रङ हटाउनै पर्छ। एनआरएनए विशुद्ध गैरराजनैतिक सामाजिक संस्था हो।’

उनले संस्थामा प्रवेश गर्ने व्यक्तिले राजनैतिक टोपी बाहिर फुकालेर आउनुपर्नेमा जोड दिए। ‘यो विदेशमा बस्ने सबैलाई समेट्ने संस्था हो। त्यसैले यहाँ आउने व्यक्तिले एउटा मात्र पार्टीको पक्षपोषण गर्नु हुँदैन भन्नेमा म अडिग छु। यसलाई साझा संस्थाकै रुपमा बढाउनु पर्छ, हुर्काउनु पर्छ,’ उनले प्रस्ट्याए।

उनले निर्वाचन लड्ने अन्य उम्मेदवारलाई पनि संस्थामा राजनीतिक लिपापोती नगर्न आग्रह गरे। नेपालमा हुँदा आफू नेपाली कांग्रेस निकट विधार्थी संगठन नेवि संघको अध्यक्ष रहिसकेको बताउँदै उनले भने, ‘यसमा लुकाउनु पर्ने केही छैन। म एउटा राजनीतिक पाटीसँग सम्बन्धित छु। तर, मैले संघमा कहिले पनि राजनीति रङ मिसाएको छैन। संघभित्र आएर राजनीति गरेको छैन।’

श्रेष्ठले जापानमा कांग्रेस निकट जनसम्पर्क समितिको सभापति भएर पनि काम गरिसकेका छन्। हाल दुई कार्यकाल महासमिति सदस्य भएर काम गरेका उनी भन्छन्, ‘यति हुँदा पनि म संस्थाभित्र कहिले पनि राजनीतिकरण हुनुपर्छ भन्ने पक्षमा छैन। म आफ्नो कर्तव्यप्रति अडिग छु।’