एनआरएनएमा मौजुदा घाटा ११ करोड, आउँदो महाधिवेशनपछि बचतमा जाने

एनआरएनएमा मौजुदा घाटा ११ करोड, आउँदो महाधिवेशनपछि बचतमा जाने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाको आर्थिक हिसाब–किताब व्यवस्थित र पारदर्शी बनाएको दावी गरेका छन्।

नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफू कोषाध्यक्षमा निर्वाचित भएपछि विगतमा संघमा हुँदै आएको घाटालाई निर्मूल गर्ने अभियान सुरु गरेको र यसमा धेरै हदसम्म सफल भएको बताए।

उनले भने, ‘संघमा मौजुदा घाटा ११ करोड छ। घाटा परिपूर्ती गर्न हामी लागेका छौं। आउँदो महाधिवेशनमा संघको सम्पूर्ण घाटा शुन्यमा झारेर केही रकम बचत गर्ने योजना छ।’

उनले विगतमा संघको हिसाब–किताब पारदर्शी नभएको र धेरै काम भावनामा बगेर गर्दा २७ करोड घाटा भएको स्पष्ट पारे। तर, आफू कोषाध्यक्षमा निर्वाचित भएपछि यो घाटा परिपूर्ती गर्ने काम भएको र संघको हिसाब–किताबलाई पारदर्शी बनाउन तीन–तीन महिनामा आन्तरिक अडिट गर्ने परिपाटी बसालेको बताए।

उनले भने, ‘पहिले भावनामा बगेर काम गरिने रहेछ। यसमा (संघका पदाधिकारीको) मनसाय खराब नदेखिएपनि सामाजिक संस्थाको काम छिटो गरौं भनेर भावनामा बढी बगेको देखियो।’

उनले गोर्खाको लाप्राकस्थित नमुनावस्ती निर्माण, शंखमुल पार्क तथा एनआरएनएको भवन निर्माण गर्दा २७ करोड घाटा लागेको जानकारी दिए। यी घाटा परिपूर्ती गर्न संघका विभिन्न कोषबाट सापटी लिएको पनि उनले स्पष्ट पारे।

‘यो घाटा आन्तरिक रूपमा मिलाउँदै जाँदा ११ करोडमा खसेको छ। हाल संघमा ५ करोड फिक्स डिपोजिट छ। आउँदो महाधिवेशनमा सदस्य शुल्कलगायत विभिन्न क्रियाकलापबाट ९–१० करोड उठ्ने अनुमान गरेका छौं,’ उनले भने,

‘यसपछि मात्र संघको ऋणात्मक हिसाब–किताब मिलान गर्न सकिन्छ।’

उनले आफू कोषाध्यक्षमा निर्वाचित भएपछि पुरानो हिसाब–किताब मिलान गर्ने क्रममा थुप्रै त्रृटी देखिएको र यसलाई सुधार गर्न तीन महिने आन्तरिक अडिटको अवधारणा ल्याएको बताए।

‘गैरआवासीय नेपालीको अभियानमा लागेका सबैले संघको हिसाब–किताब थाहा पाउनु भनेर हामीले आन्तरिक अडिटको रिपोर्ट नै अनलाइनमार्फत सार्वजनिक गर्ने प्रथाको सुरुवात गरेका हौं,’ उनले भने, ‘कुनै कार्यक्रम गर्दा अगाडि नै बजेट निर्माण गर्ने तथा स्वीकृत बजेटको परिधिमा रहेर मात्र काम गर्ने नियम बनाएका कारण पनि अहिले अनावश्यक खर्च रोकिएको छ।’