एनआरएनए निर्वाचन : दक्षिण कोरियाबाट कुँवरको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी

एनआरएनए निर्वाचन : दक्षिण कोरियाबाट कुँवरको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी

सौल। दक्षिण कोरियाबाट विनोद कुँवरले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।

कुँवरले दुई कार्यकाल एनसीसी कोरियाको अध्यक्ष भएर काम गरिसकेका छन्। उनीसँग एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजक भएर काम गरिसकेको अनुभव छ।

सामाजिक अभियानमा लामो समयदेखि जोडिएका उनी कोभिड महामारीको पहिलो लहरमा कोरियाबाट सबै नेपालीलाई एकजुट गराएर आर्थिक संकलन गर्दै स्वास्थ्य सामग्री नेपाल पठाउन सफल भएका थिए। दोस्रो लहरमा पनि उनले कोरिया सरकारसँग सम्वन्य गरेर नेपालको लागि स्वास्थ्य सामग्री पठाएका थिए।

उनले संस्थागत सवलीकरण, श्रम कुटनीति, ब्रेन पुलिङ, उद्यमशीलतालगायत विभिन्न एजेण्डा अगाडि सार्दै एसिया प्यासिफक संयोजकमा उम्मेदवारी दिएको बताएका छन्। २३ वर्षको उमेरमै म्याग्दीबाट कोरिया पुगेका कुँवरले सफल व्यवसायीको छाप पनि बनाएका छन्।

उनले नेपाल र कोरियाबीच ट्रेडिङ व्यवसाय गरिरहेका छन्। यसबाहेक उनी रेष्टुरेण्ट व्यवसायमा संलग्न छन्। रेमिट्यान्स उनको प्रमुख व्यवसाय हो।

कुँवरको नेपालमा जलविद्युत, रेमिट, ट्राभल, हस्पिटालिटी, कृषि, पर्यटन र वितिय क्षेत्रमा लगानी छ।

‘म गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको स्थापनाकालदेखि नै कार्यरत छु। दुई कार्यकाल अध्यक्ष पदमा रहेर काम गरे। गैरआवासीय संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य, एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप–संयोजक तथा मानार्थ परिषद सदस्य भएर काम गरे। करिब १६ वर्षदेखि संघको विभिन्न पदमा रहेर जिम्मेवारी बहन गर्दै आइरहेको छु,’ उनले भने, ‘अहिले एसिया प्यासिफिक संयोजकको उम्मेदवारी प्राप्त अनुभवलाई संस्थागत हितमा प्रयोग गर्न हो।’

उनले एसिया प्यासिफिक क्षेत्र आफैमा गतिशील भएको र विश्व अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा ओगट्ने सामथ्र्य रहेको तथ्य उजागर गर्दै भने, ‘यो क्षेत्रमा रोजगारी, व्यापार, अध्ययन तथा अन्य कारणले बसोबास गर्ने नेपाली समुदायको सङ्ख्या उल्लेख्य मात्रामा छ। नेपाली समुदायले पछिल्लो समयको तीव्र विकासको साक्षी बन्ने एउटा अभूतपूर्व मौका पाएका छन्। यसलाई हामीले देशहितमा उपयोग गर्न सक्नुपर्छ।’

उनी एसिया प्यासिफिक क्षेत्रमा कार्यरत नेपालीको अभूतपूर्व अनुभव सँगै ज्ञान, सीप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति महत्वपूर्ण हुने बताउँछन्। यी अनुभवलाई गैरआवासीय नेपाली संघमार्फत राष्ट्रहितमा लगाउन आफूले उम्मेदवारी दिन लागेको उनेको भनाई छ।

उनले निर्वाचनका लागि ४ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन्। ती प्रतिबद्धता यस्ता छन् ।

१–संस्थागत सबलीकरणको लागि नेटवर्किङ, समावेशीता, पारदर्शिता

२–श्रम डिप्लोमेसीमार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिश्चितता

३–ब्रेन पुलिङद्वारा सम्बृद्ध नेपालका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरण अभियान

४–उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवर्धन र रोजगारी सृजना