एनआरएनए अभियानलाई पैसा र राजनीतिबाट टाढै राख्नुपर्छः डा. हेमराज शर्मा

एनआरएनए अभियानलाई पैसा र राजनीतिबाट टाढै राख्नुपर्छः डा. हेमराज शर्मा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा आगामी कार्यकाल उपाध्यक्षका प्रत्यासी डा. हेमराज शर्माले संघलाई राजनीतिक हस्तक्षेप मुक्त गराउन जोड दिएका छन्।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलामा उनले एनआरएनएका अधिकांश मुद्धा राजनीतिसँग जोडिएपनि राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्ने बताए। शर्मा २००५ देखि एनआरएनए अभियानमा सक्रिय छन्।

एनआरएनएको १० औं महाधिवेशनको सन्दर्भमा ‘नीति तथा नेतृत्व’ बहस कर्यक्रममा डा.शर्माले भने, ‘राजनीतिको नाममा हुने गरेका खुद्रा तथा तल्लो स्तरको हस्तक्षेपप्रति मेरो आपत्ति हो।’ तर, उनले राजनीतिप्रति आफ्नो वितृष्णा नरहेको बताए। उनले भने, ‘हामी के कुरामा सचेत छौं भने राजनीति बिना यति ठूलो संस्था चल्दैन। हाम्रो जतिपनि मुद्दा छन्, ती राजनीतिसँगै जोडिएका छन्। तर, पार्टी र राजनीतिको नाममा हुने हस्तक्षेपप्रति मेरो मात्र नभएर, एनआरएनएप्रति चिन्ता गर्ने सबैको आपत्ति छ।’

उनी चुनावमा टिकट माग्न काठमाडौं जानुपर्ने र नेतालाई आफ्नो पक्षमा पार्ने कार्यले एनआरएनएलाई कतै नपु¥याउने बताउँदै भने, ‘निर्वाचनमा प्रत्यक्ष रुपमा मन्त्रालय, हेडक्वाटर, सांसदबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई क्षति पु¥याउँछ।’ उनी मन्दिरमा प्रवेश गर्नुअघि ढोकामा जुत्ता फुकाल्ने परम्परा जस्तै एनआरएनएमा आउँदा राजनीति टोपी र जुत्ता बाहिरै छोडेर आउनुपर्ने सुझाव दिन्छन्।

बहस कार्यक्रममा महासंघका राजकुमार थापाले एनआरएनएमा राजनीतिक चासो बढ्नुको कारण के होला भनेर सोधेका थिए। यस प्रश्नमा डा. शर्माले भने,‘बाहिर जुन एनआरएनए देखिन्छ, त्यसमा नेताहरू आकर्षित हुनुहुँदैन। यसबाट नेताहरूलाई केही फाइदा हुँदैन पनि। ठूला र प्रोफेसनल मान्छे बाहिर छन्, त्यसैले यसमा आँखा लाउनु उपयुक्त नहोला।’

बहसमा महासंघ युरोपका केजिन राईले निर्वाचनमा हुने भद्रगोलको विषयमा पनि प्रश्न उठाएका थिए। यो प्रश्नमा डा. शर्माको भनाई थियोे, ‘संस्थाको संरचना र निर्वाचनको पद्धतिसँग जोडिएका विषयलाई परिवर्तन गर्नु नै थियो। त्यही पद्धतिलाई सच्याउन गत जनवरीमा विशेष अधिवेशन बोलाएर विधानमा संशोधन गरेका छौं। पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधानले यसपालि अन्त्य गरेको छ।’

उनले विगतमा झैं निर्वाचनमा भद्रगोल नहोस् भनेर अनलाइन भोटिङको व्यवस्था गरेको बताए। ‘यस्तो गर्दा निर्वाचनमा राजनीति कम हुन्छ,’ उनको भनाई थियो, ‘नीति तथा व्यवस्थापकीय सुधार गर्नसके निर्वाचनलाई पहिलेभन्दा व्यवस्थित गर्न सकिन्छ।’

उनले गैरआवासीय नेपाली संघको अभियान सबैको लागि साझा र अपनत्व अनुभव गर्ने खालको हुनुपर्नेमा जोड दिए। ‘यो अभियानलाई पैसा र राजनीतिबाट टाढै राख्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘जहाँ पैसा र राजनीति जोडिएको छ, त्यसलाई शून्य बनाउनु पर्छ भनेर प्रिमेम्बरशीप र रजिस्ट्रेसन फिलाई शून्य बनाउने प्रयत्न गर्यौं।’

उनले एनआरएनएको मर्मलाई आत्मसात गरेर विश्वभरका गैरआवासीय नेपालीको हकहितका लागि काम गर्नुपर्ने बताएका छन्।