एनआरएनए निर्वाचन : दक्षिण कोरियाबाट एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा सुवेदीकोे दौडधुप

एनआरएनए निर्वाचन : दक्षिण कोरियाबाट एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा सुवेदीकोे दौडधुप

सौल। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा दक्षिण कोरियाबाट यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन्।

सुवेदी एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष पनि हुन्। ताप्लेजुङमा जन्मिएका सुवेदीले काठमाडौंको सरस्वती क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन्।

सन् १९९६ मा उनी कामदारका रूपमा कोरिया प्रवेश गरेका थिए। कामका साथै उनले कोरियामा अध्ययनलाई निरन्तरता दिए। उनले कोरियामा बसेर मानवशास्त्रमा स्नातकोत्तर पूरा गरे।

अध्ययनसँगै उनले कोरियामा रहेका आप्रवासीका लागि सहयोग गर्ने उद्धेश्यले गैरनाफामूलक संस्थाको रूपमा आप्रवासी सहयोग केन्द्रको स्थापना गरेका थिए। यो संस्थामार्फत उनले नेपाली मात्र नभइ, विदेशी श्रमिकलाई पनि सहयोग गरेका थिए। सुवेदीले सन् २००९ मा कोरियाको नागरिकता प्राप्त गरिसकेका छन्।

कोरियामा विद्यमान विभेदकारी आप्रवासी कानूनको लामो समयदेखि विरोध गर्दै आएका सुवेदीले श्रमिकको हितमा बनेका कानूनलाई कडाईका साथ लागू गर्न दवावमुलक भूमिका खेल्दै आएका छन्।

करिब ७ महिनाअघि उनी दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिअन्तर्गत मल्टिकल्चरल विभागको उपाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इ नाक यन र उप–समिति सभापति सांसद गो यङ् इनले उपाध्यक्ष नियुक्त गरेका थिए।

सुवेदीले एनआरएन एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा उम्मेदवारी दिनुको कारण बताउँदै प्रवास खबरसँग भने, ‘मैले संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सीप आर्जन र स्वदेशमा स्वरोजगारको नारा दिँदै उम्मेदवारी घोषणा गरेको हुँ।’ उनी आफ्नो उम्मेदवारीलाई आर्थिक वा राजनीतिक दाउपेच भन्दा पनि सामुहिक सहकार्यका आधारमा तय भएको बताउँछन्।

देशभित्र कोभिड–१९ को महामारी चुलिँदा उनले दक्षिण कोरियाबाट करिब १ करोडभन्दा बढीको हाराहारीमा स्वास्थ्य सामाग्री पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए। उनको पहलमा दक्षिण कोरियाली सरकारले पनि नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो।

उनी दक्षिण कोरियामा बटुलेको अनुभवलाई एसिया प्यासिफिकको अन्य देशमा पनि साट्न चाहन्छन्। आफ्नो उम्मेदवारी यसैकारण भएको उनको तर्क छ।

‘म आफै श्रमिकको रूपमा दक्षिण कोरिया आएको व्यक्ति हुँ। त्यसैले श्रमिकको हकअधिकार तथा सरोकारको क्षेत्रमा मेरो अनुभव लामो छ। म यही अनुभवलाई सबैमाझ बाँड्न चाहन्छु,’ उनी भन्छन्।

एनआरएनएको केन्द्रीय विधान संसोधन समितिको सदस्यमा नियुक्त भएर सुवेदीले काम गरिसकेका छन्। उनले कोरियाका वर्तमान राष्ट्रपति मुन जे इनको अध्यक्षतामा रहेको उत्तर–दक्षिण कोरिया शान्तिपूर्ण एकता समितिको सल्लाहकार, दक्षिण कोरियाको सत्तारुढ दलको प्रवासी मामिलासम्बन्धि समितिको केन्द्रीय उपाध्यक्षमा रहेर पनि काम गरेका थिए।

सुवेदीले चुनावका लागि सारेका एजेण्डा

१- एनआरएनए संस्थागत संरचना सबलीकरण तथा सुधार, थप समावेशीता तथा पारदर्शिता

२- कोभिड–१९ को कारण रोकिएका तथा रोजगार गुमाएकाको रोजगारको सुनिश्चितताको लागि आवश्यक सहजीकरण

३-शनिवारीय स्कुल : दोश्रो पुस्ताका लागि निस्शुल्क अनलाइन नेपाली भाषा तथा संस्कृती सिकाउने शनिबारीय विधालय

४- स्वरोजगार र स्वावलम्बन अभियानस् विदेशमा रहदा सीप तथा प्रशिक्षण, स्वदेश फिर्तिसँगै स्वरोजगार तथा स्वावलम्बन

५-  एनआरएनएमा पुस्ता हस्तान्तरण : युवारबिधार्थीको सहभागिताका पक्षमा वकालत, ज्ञान, सीप र प्रविधि हस्तान्तरणमा सहजीकरण