कतारमाथि एमनेस्टीको आरोप : आप्रवासी श्रमिकको मृत्युको कारण लुकाइयो

कतारमाथि एमनेस्टीको आरोप : आप्रवासी श्रमिकको मृत्युको कारण लुकाइयो फाइल फोटो

काठमाडौं। एक दशकयता कतारमा मृत्युवरण गरेका हजारौं आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारी असफल भएको रिपोर्ट एमनेस्टी इन्टरनेशनलले हालै सार्वजनिक गरेको छ।

असुरक्षाका बीच काम गर्ने ठाउँमा अकालमा ज्यान गुमाएको प्रमाण हुँदाहुँदै कतारी अधिकारी अनुसन्धान गर्न असफल भएकोमा एमनेस्टीले गहिरो चिन्ता व्यक्त गरेको छ।

प्रतिवेदनमा पर्याप्त अनुसन्धान नै नगरी कतार सरकारले आप्रवासी श्रमिकको मृत्यु प्रमाण–पत्र जारी गर्ने गरेको उल्लेख छ। सरकारले आफ्नो विफलता लुकाउन मृतकको निधनको सनाखत प्राकृतिक कारण वा मुटुको विफलता (कार्डियो फेलर) बाट भएको भनेर उल्लेख गर्ने गरेको पाइएको एमनेस्टीको दावी छ।

प्रतिवेदनमा एक प्रमुख स्वास्थ्य विशेषज्ञको भनाइ उल्लेख गर्दै स्पष्ट पार्न खोजिएको छ– मृत्युवरण गरेका व्यक्तिको परिवारलाई दिनुपर्ने उचित क्षतिपूर्ति टार्न यस्तो रिपोर्ट बनाउने गरिएको छ।

ती स्वास्थ्य विशेषज्ञले सरकारले उपलब्ध गराउने यस्ता रिपोर्ट ‘अर्थहीन’ भएको बताएका छन्। कतारी सरकारको यस्तो रवैयाका कारण मृतकको परिवारले रोजीरोटीको लागि आर्थिक कठिनाइबाट गुज्रिनु परेको छ। एमनेस्टीको प्रतिवेदनमा कतारको चर्को गर्मी तथा हावापानीमा गर्नुपर्ने कडा शारीरिक परिश्रमका कारण श्रमिकको ज्यान जाने गरेको उल्लेख छ।

पछिल्लो समय एमनेस्टीलगायत अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दबाबमा कतार सरकारले श्रमिक सुरक्षामा केही सुधार गरेको बताएको थियो। उसले श्रमिकको सुरक्षाका लागि केही नियम पनि सार्वजनिक गरेको थियो। तर, यति हुँदा पनि जोखिम यथावत रहेको एमनेस्टीको रिपोर्टमा बताइएको छ।

‘गर्मीसँग सम्बन्धित मृत्युको अनुसन्धानको सन्दर्भमा यहाँ (कतार) का अधिकारीले एकदम थोरै काम गरेको पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

एमनेस्टीले चिकित्सा क्षेत्रका विज्ञ समूहलाई समावेश गराउँदै मृत्युको कारण बारे समीक्षा गरेको थियो। जसमा मृत्युका १८ वटा प्रमाण–पत्रको समीक्षा गर्दा अकालमा मृत्युवरण गरेका ३०–४० वर्ष उमेर समूहभित्रका ६ श्रमिकका परिवारसँग एम्नेस्टीले सोझै अन्तर्वार्ता लिएको थियो।

‘तुलनात्मक रूपमा निरोगी तथा जवान युवाको अत्याधिक गर्मी र लामो समय काम गरेका कारण जब मृत्यु हुन्छ, यसले कतारमा श्रमको अवस्थामाथि गम्भीर प्रश्न उठ्ने गर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘आप्रवासी श्रमिकको मृत्युको आधारभूत कारणको अनुसन्धान गर्न असफल हुँदा कतारी अधिकारीले चेतावनीका संकेतलाई वेवास्ता गरिरहेका छन्, जसलाई सम्बोधन गर्न सकिएको खण्डमा मात्र धेरैको ज्यान बचाउन सकिन्छ।’

एमनेस्टीले कतारको यस कार्यलाई ‘मान्छेको बाँच्न पाउने अधिकार’ को उल्लङ्घन भनेको छ। ‘उनीहरूले शोकसन्तप्त परिवारको अधिकार र भावीअवस्था बारे वेवास्ता गरिरहेका छन् र पीडादायी प्रश्नलाई अनुत्तरित छाडिदिएका छन्,’ प्रतिवेदनमा उल्लेख छ।

एमनेस्टी इन्टरनेशनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककवर्नले भनेका छन्, ‘हामीले कतारी अधिकारीसमक्ष आप्रवासी श्रमिकको मृत्युको पूर्ण अनुसन्धान गर्न आग्रह गरिरहेका छौं। अन्य कुनै कारण नभई अत्यधिक गर्मी जस्ता खतराका कारण मृत्यु भएको पाइएमा मृतकका परिवारलाई कतारले तत्कालै क्षतिपूर्ति प्रदान गर्नुपर्छ।’

स्टिभ ककवर्न अन्य श्रमिकको हकमा पनि कतार सरकारले तत्कालै सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा जोड दिन्छन्। ‘आप्रवासी श्रमिकको मृत्युको अनुसन्धान, क्षतिपूर्ति र रोकथाम गर्न नसक्नु मानिसको बाँच्न पाउने अधिकारको रक्षा र संरक्षण गर्ने दायित्वबाट चुक्नु हो,’ उनी भन्छन्।

महामारी विशेषज्ञका अनुसार कतार जस्तो राम्रो स्रोत र प्रविधि भएको स्वास्थ्य प्रणालीमा १ प्रतिशतबाहेक सबै मृत्युको यथेष्ट कारण पहिचान गर्न सम्भव हुनुपर्ने उल्लेख छ। तर, प्रमुख श्रम गन्तव्य मुलुकको तथ्यांकलाई समीक्षा गर्दा एमनेस्टीले आप्रवासी श्रमिकको हकमा कतारमा ७० प्रतिशत अस्पष्ट मृत्युदर रहेको उल्लेख गरेको छ।

अस्पष्ट मृत्युको मापन

सन् २०१७ देखि २०२१ सम्म कतारले जारी गरेको १८ श्रमिकको मृत्यु प्रमाण–पत्रको समीक्षा एमनेस्टीले गरेको छ। ती मध्ये १५ जनाको मृत्युको अन्तरनिहित कारणबारे कुनै स्पष्टता छैन। बरु आकस्मिक हार्ट फेलर र प्राकृतिक कारण दर्शाएर मृत्युको कारण लुकाउन खोजिएको छ। सन् २०१५ यता विश्वकप सुविधामा ‘रोजगारसँग असम्बन्धित’ ३५ जना व्यक्तिको मृत्युको रिपोर्ट राख्दा आधाभन्दा बढी मृतकको निधनको कारणमा यस्तै वाक्यांश प्रयोग गरिएको पाइएको छ। सरकारी तथ्यांकमा ती घटनामा ‘सार्थक छानवीन सम्भव थिएन’ भनी बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मा मृत्यु प्रमाण–पत्र सम्बन्धी काम गर्दै आएका एक सदस्य एवं प्रमुख प्याथोलोजिष्ट डा. डेभिड बैलेले एमनेस्टीलाई बताएका छन्, ‘कुनैपनि मृत्यु प्रमाण–पत्रमा मृत्युको यथेष्ट कारण प्रयोग नगरी यस्ता शब्दावलीको प्रयोग गर्न पाइँदैन।’

श्वासप्रश्वास असफलता वा मुटुको असफलताले जोकोहीको मृत्यु हुन्छ भने किन र कसरी उसको मृत्यु भयो? यो उल्लेख नगरी यस्ता शब्दावली प्रयोग गर्नु अर्थहीन भएको डा.बैलीको भनाइ छ।

एमनेस्टीले विभिन्न स्रोतबाट प्राप्त गरेको मृत्यु तथ्याङ्कलाई समीक्षा गर्दा ठूलो संख्यामा आप्रवासी श्रमिकको मृत्युको कारण खुलाइएको देखिएन। यसैले एमनेस्टीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘कतारको सरकारी तथ्यांकअनुसार २०१० देखि २०१९ को बीच सबै उमेर समूह र पेसाअन्तर्गतका कूल १५ हजार २१ भन्दा बढी गैरकतारीको मृत्यु भएको छ। तर, यसमा उल्लेख भएको मृत्युको कारण विश्वसनीय देखिदैन। अनुसन्धानमा भएको कमी कमजोरीका कारण यस्तो भएको हो।’

एमनेस्टीको प्रतिवेदन अनुसार कतारमा मृत्यु भएका श्रमिकको तथ्यांकमा मुटुसँग सम्बन्धित रोग (कार्डियोभास्कुलर डिजिज) बाट अत्याधिक निधन भएको देखाउनु र अस्पस्टता कायम रहनुले शंका उब्जिनु जायज हो। यसमा पनि दक्षिण एसियाली देशको मृत्युको तथ्यांकमा सबैभन्दा बढी यो कुरा उल्लेख गरेको पाइन्छ।

उदाहरणको लागि २०१६ देखि २०२० सम्म कतारमा मृत्यु भएका बङ्लादेशी श्रमिकमध्ये ७१ प्रतिशतको मृत्युलाई कतारले ‘प्राकृतिक कारण’ ठहर गरेको छ। बेलायतबाट प्रकासित हुने गार्जियन पत्रिकाले गरेको एक अनुसन्धान अनुसार कतारमा २०१० देखि २०२० सम्म मृत्यु भएका नेपाल, भारत र बङ्गलादेशका श्रमिकमध्ये ६९ प्रतिशतको मृत्युको कारण ‘प्राकृतिक’ भनी उल्लेख गरिएको छ।