ओमन प्रवेशमा नयाँ यात्रा नीति, सरकारी मान्यता प्राप्त खोप अनिवार्य

ओमन प्रवेशमा नयाँ यात्रा नीति, सरकारी मान्यता प्राप्त खोप अनिवार्य

मस्कट। ओमनले आफ्नो देश प्रवेश गर्ने नेपालीलगायत विदेशी नागरिकको लागि नयाँ यात्रा नीति बनाएको छ। कोभिड–१९ संक्रमणको अनुगमन गरिरहेको ओमनको सुप्रिम कमिटीले १ सेप्टेम्बरदेखि लागू हुने गरी नयाँ मापदण्ड जारी गरेको हो।

नेपाललगायत अन्य देशबाट ओमन प्रवेश गर्ने यात्रुले यहाँको सरकारले मान्यता दिएको खोप लगाउनु पर्ने नीति बनाएको मस्कटस्थित नेपाली दूतावासले बताएको छ। ओमन प्रवेशका लागि जोेन्सन एण्ड जोन्सनको ‘एक डोज’ र अन्य बाँकीको हकमा ‘डबल डोज’ खोप अनिवार्य गरिएको छ।

ओमनले फाइजर र बायोनटेक, अक्स्फोर्ड र अस्ट्राजेनेका, गमालेया स्पुटनिक भी, मोडेर्ना, कोभिसिल्ड सिनोभ्याक (कोरोनाभ्याक), सिनोफार्म (भेरोसेल) र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ।
नयाँ नियमअनुसार यात्रा गर्नुअघि खोप लगाएको १४ दिन पुरा हुनुपर्ने सर्त अघि सारिएको छ। यात्रा गर्नुपूर्व यात्रुले ‘टारासुद’ मोबाइल एप डाउनलोड गरी आफ्नो विवरणलगायत ‘क्यूआर कोर्ड’ सहितको खोप लगाएको प्रमाण पत्र तथा पीसीआर प्रमाणपत्र अपलोड गर्नुे पर्नेछ।

सन् २०२१ को जनवरीदेखि जारी नयाँ भिसाको म्याद डिसेम्बरसम्म निःशुल्क थप्न सकिने छ। नेपालमा रहेकाले रोयल ओमन प्रहरीको वेभ साइटबाट नवीकरण गर्नसक्ने दूतावासले जनाएको छ। ओमनबाहिर बसेको ६ महिना बढी अवधि भएकाले आफ्नो रोजगारदातामार्फत रोयल ओमन प्रहरीको कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ।

ओमनले १ सेप्टेम्बरदेखि पुरानै प्रक्रियाअनुसार भिसा जारी गर्दैछ। सेप्टेम्बरबाट ओमनको भिसा नवीकरण गर्न खोपको एउटा डोज अनिवार्य लगाएको हुनु पर्नेछ। अक्टोबरबाट भने भिसा नवीकरणका लागि खोपको दुवै मात्रा अनिवार्य गरिएको छ।

यस्तै उडान पूर्व ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाले ‘क्वारेण्टाइन’ बस्नुपर्ने छैन।

कम्पनीको मेडिकल उपचार सम्बन्धी व्यवस्था नभएकाले एक महिनाको मान्यता भएको अन्तर्राष्ट्रिय कोरोना यात्रा बिमा गरेको हुनु पर्नेछ। ओमनमा रहेका नेपालीलाई यी विषयमा केही बुझ्नु परेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ र २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ।