कुवेती प्रशिक्षकद्धारा ‘नेपाली फुटबलमा राजनीति हावी भएको भन्दै’ नेपाल छोड्ने संकेत

कुवेती प्रशिक्षकद्धारा ‘नेपाली फुटबलमा राजनीति हावी भएको भन्दै’ नेपाल छोड्ने संकेत

काठमाडौं। ‘म बाहिरिए। राजनीतिले काम गरोस्,’ बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्धारा गठित छानवीन समितिले सार्वजनिक गरेको रिपोर्टप्रति संकेत गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोसल मिडियामा लेखेको स्टाट्स हो, यो।

यसले उनी राखेपको प्रतिवेदनपछि असन्तुष्ट देखिएको प्रस्ट पारेको छ। उनले प्रतिवेदनप्रति कुनै कुरा उल्लेख नगरेपनि खेलकुदवृत्तमा कुवेती प्रशिक्षकले नेपाली राष्ट्रिय टोली छाड्न लागेको संकेतको रूपमा लिइएको छ।

गत महिना प्रशिक्षक अल्मुताइरी र अखिल नेपाली फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच सोसल मिडियामा दोहरी चलेपछि एन्फाकै सिफारिसमा परिषद्ले पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानवीन कमिटी गठन गरेको थियो। साउन १९ मा गठित कमिटीले बुधबार प्रतिवेदन बुझाउँदै अल्मुताइरीलाई एन्फासँगको सम्झौता मुताविक कार्य सम्पादन मात्र गर्न र आगामी दिनमा विवाद सिर्जना हुने खालको कुनै गतिविधि नगर्न तथा सामाजिक सञ्जालमा कसैप्रति लक्षित धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गराइएको छ।

अल्मुताइरीले एन्फा बरिष्ठ उपाध्यक्ष नेम्वाङले विगतदेखि आफूलाई काम गर्न असहज वातावरण बनाएको भन्दै गत महिना सोसल मिडियामार्फत राजीनामा गर्न गएको र यसको जिम्मेवार नेम्वाङ भएको बताएका थिए।

 



No ads found for this position