एनआरएनए निर्वाचनः दुई वर्षअघिको पराजयलाई जितमा बदल्ने धर्मराज अधिकारीको अठोट

एनआरएनए निर्वाचनः दुई वर्षअघिको पराजयलाई जितमा बदल्ने धर्मराज अधिकारीको अठोट

धर्मराज अधिकारी पेशाले फास्टफुड र रेस्टुरेन्ट व्यवसायी हुन्। सन् १९९६ मा अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनी त्यहीबाट गैरआवासीय नेपालीहरूको अभियानमा सक्रिय छन्।

उनको जन्मथलो नुवाकोट हो। उनले अष्ट्रेलियाको लामो बसाइँका क्रममा पीआर लिएपनि नागरिकता लिएका छैनन्। लामो समय अस्ट्रेलियामा काम गरेपनि उनको सोच देश फर्किने छ। उनले यसअघि नै नेपालमा हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गरिसकेका छन्।

सन् २०१५ मा एनआरएनए आइसीसी सदस्य निर्वाचित भएका अधिकारी २०१७ मा ओसिनिया क्षेत्रीय संयोजक भएका थिए। अघिल्लो कार्यकालमा उनी केन्द्रीय उपाध्यक्षमा भिडेका थिए। तर, झिनो मतले पराजित भए।

यसपालि उनी पुरानो गल्तीबाट पाठ सिक्दै पुनः उपाध्यक्ष पदमा उठ्ने तयारीमा छन्। यसका लागि उनले धेरै मिहिनेत पनि गरेका छन्। एनआरएनएमा उनी सहयोगी अभियन्ताको रुपमा परिचित छन्। उनको भद्र स्वभाव र देशप्रतिको समर्पण भावलाई विपक्षीले पनि ‘लोहा’ मान्ने गर्छन।

उनले एनआरएनए केन्द्रीय उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेपछि चुनावी सरगर्मी पनि बढेको छ। उनको उम्मेदवारी तथा चुनावी एजेण्डाको विषयमा प्रवास खबरका लागि बिनेश खनालले गरेको कुराकानीको सारसंक्षेपः

तपाईंले केन्द्रीय उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय किन गर्नुभयो?

म लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानबाट सामाजिक कार्यमा सक्रिय छु। अभियानमा आवद्ध भइसकेपछि नेतृत्वमा आउने चाहना सबैको हुन्छ। यो स्वभाविक हो। एनआरएनएमा आफूसँग भएको चिज दिन जाने हो, न कि लिन। सामाजिक अभियानबाट पछाडि हट्न नसक्ने भएपछि उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको हुँ।

पहिले पनि उपाध्यक्ष पदमा निर्वाचन उठेर पराजित हुनुभयो, यसपालि कस्तो माहौल छ?

उपाध्यक्षमा आउने चाहना अघिल्लो निर्वाचनदेखि नै हो। त्यतिबेला म उपाध्यक्षमा चुनाव लडें। तर, थोरै मतले पराजित भएँ । ४७ भोट कम आएको थियो, यो भनेको करिब ३७ भोटको फरक हो।

यसपटक चिनजान बढेको छ। फेरि सबैले तपाईं उठ्नुपर्छ, हामी साथमा छौं भन्नु भएको छ। ६ वटै क्षेत्रका गैरआवासीय नेपाली साथीको आग्रह अनुसार नै यसपटक पुनः उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ।

एनआरएनए अभियानमा जोडिएपछि तपाईंलाई सम्झनलायक के कस्तो काम गरियो भन्ने लागेको छ?

म क्षेत्रीय संयोजक हुँदा मैले गरेका हरेक प्रतिबद्धता पूरा गरेको छु। त्यतिबेला म दुई वटा ठूला आयोजना गर्न सफल भएको थिएँ। विज्ञ सम्मेलनको आयोजना गरेको थिएँ। ती सम्मेलनमा नेपालमा आधुनिक प्रविधिको कृषि खेती कसरी भित्र्याउन सकिन्छ र नेपालको समग्र विकासमा कसरी गैरआवसीय नेपालीले योगदान पुर्याउन सक्छ भनेर विशेष छलफल गराएको थिएँ।

मेरो उद्देश्य भनेको कर्मभूमिमा विदेशमा बसेर सिकेको सीपलाई मातृभूमिमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने थियो। परिणामस्वरुप अहिले विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

मेरो पालमा भएको कार्यको साथीहरूले क्षेत्रीय सम्मेलनमा समेत प्रशंसा गर्नुभएको थियो। वास्तवमा त्यतिबेला देखि नै साथीहरूले मबाट धेरै आशा गर्नुभएको हो। नेतृत्व तहसम्म पुगेको खण्डमा मेरा अपुरो योजनाले सार्थकता पाउने छन् भन्नेमा म आशावादी छु।

चुनावका लागि के–के तयारी गर्नुभएको छ?

पहिलाभन्दा अवश्य पनि तयारी व्यापक छ। पहिला जे–जति जोश जाँगर थियो, त्यो मरेर गएको छैन। बरु बढेको छ। नेतृत्वमा जाने चाहना पहिलेभन्दा तीव्र छ।

पहिला जितेर आएका साथीहरूले के–के काम गर्नुभयो, के गर्नसक्नु भएन, त्यसको अध्ययन मैले गरेको छु। यस बीचमा मैले धेरै साथीहरूसँग नजिक भएर छलफल गरेको थिए। गत निर्वाचनमा भएका सानातिना गल्तीलाई सुधार गर्ने मौका पाएको छु। त्यसैले पहिलाभन्दा अहिले तयारी व्यापक नै छ भनेर त नभनौं, जित भने सुनिश्चित छ। यसमा ढुक्क छु।

कोरोनाको कारण भौतिक रुपमा उपस्थित हुनसक्ने अवस्था छैन। सामाजिक सञ्जाल तथा जुमलगायत प्रविधि प्रयोग गरेर चुनावी माहोलअघि बढाइरहेको छु, यो बाध्यता पनि हो।

तपाईंका चुनावी एजेण्डा के–के हुन्?
हेर्नुस्, मेरा त्यति धेरै चुनावी एजेण्डा छैनन्। संघलेअघि सारेका मुद्धा नै मेरो प्राथामिकतामा हुनेछन्।

म आफैले पनि नेपालमा लगानी गरिरहेको छु। देशभित्र गैरआवासीय नेपालीको सामूहिक लगानी भित्र्याउनु पर्छ भन्नेमा मेरो जोड छ। यसबाहेक नेपाली नागरिकताको निरन्तरता, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवद्र्धन गर्न काम गर्नेछु।

अन्त्यमा संसारभर छरिएर रहेका नेपालीलाई के भन्न चाहानुहुन्छ?

हामी अहिले जन्मभूमि छोडेर कर्मभूमिमा सक्रिय छौं। यहाँ हामीले धेरै कुरा सिकेका छौं, बुझेका छौं। हामीले आर्जन गरेको ज्ञान र सीपले मातृभूमिलाई पनि योगदान पुर्याउनु पर्छ। देश समृद्ध हुनु नै समग्र नेपाली सुःखी हुनु हो।

यहाँ एउटा नेपालीले कमाएको पैसा र ज्ञानले देशभित्र कम्तिमा तीन जनालाई योगदान पुर्याउन सक्छ। देश छोडेर विदेशमा आइसकेपछि फेरि नेपाल फर्किनुपर्छ, सधै विदेशमा बस्नुपर्छ भन्ने छैन। हामीले यो किसिमको अभियान चलाउनु पर्ने आवश्यकता छ।