यूएईमा रहेको नेपाली दूतावासको गैरजिम्मेवार हर्कत !

यूएईमा रहेको नेपाली दूतावासको गैरजिम्मेवार हर्कत !

काठमाडौं। नेपालीमा एउटा उखान निकै प्रचलित छ– ‘आँखा झिम्क्याउँनु र कुखुरा हराउनु।’

यो उखानलाई चरितार्थ गर्ने एउटा घटना केही समयअघि संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीस्थित नेपाली दूतावासमा भएको छ। दूतावासले आइतबार बेलुका ‘यूएईमा रहेका नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूमा अनुरोध’ भन्दै एउटा सूचना जारी गर्‍याे।

त्यो सूचना किन निकालियो? को प्रति लक्षित थियो? र, कुन उद्धेश्यका लागि निकालियो? स्पष्ट हुन सकेको छैन। तर, रोचक कुरा, दूतावासले आफ्नो सोसल मिडियामार्फत सार्वजनिक गरेको त्यो सूचना केही समय नबित्दै तत्कालै हटायो।

दूतावासले ‘सूचना’ भन्दै सुरुमा पोस्ट गरेको सन्देश अस्पष्ट हुँदा यूएईमा कार्यरत नेपालीहरू अलमलमा परेका थिए। अझ दूतावासले आफैले पोस्ट गरेको सूचना आफै हटाएपछि सबै जना अक्कनबक्क परे।

दूतावासको यति ठूलो गैरजिम्मेवारपूर्ण हर्कत देखेपछि यूएईमा विभिन्न अड्कलबाजी सुरु भएको छ। अहिले यो घटनालाई यूएईमा रहेका नेपालीले दूतावासमा कार्यरत कर्मचारीबीच बेमेलको वातावरण रहेको रुपमा बुझेका छन्।

यस विषयमा प्रवास खबरले राजदूत कृष्ण प्रसाद ढकालसँग सम्पर्क गरेको थियो। तर, ढकाल आफू अर्के बैठकमा रहेको र बोल्न नमिल्ने भन्दै पन्छिन खोजे। प्रवास खबरले दूतावासका सूचना अधिकारी द्धितिय–सचिव भुवन ओझासँग पनि सम्पर्क गर्‍याे। उनीसँग कुरा गर्दा दूतावासकै जिम्मेवार कर्मचारीहरू सूचनाको विषयमा अनभिज्ञ रहेको पत्ता लाग्यो।

‘मैले सूचना पेजबाट पोष्ट गरेको हो। तर, म आफूले भने तयार पारेको होइन,’ उनी पनि पन्छिन् खोजे। उनले यो सूचना दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले तयार पारेको बताए। र, थापासँगै सबै कुरा बुझ्न भन्दै पछि हटे।

श्रम काउन्सिलर थापासँग कुराकानी गर्दा उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरिन्। उनले दूतावासले सार्वजनिक गरेको सूचना यूएईमा कार्यरत नेपालीबीच एक–आपसमा सद्भाव कायम होस्, झैं–झगडा नहोस् भन्ने सन्देश दिन जारी गरिएको बताइन्।

कोरोनाकालमा यूएईमा कार्यरत नेपाली साथीभाईसँग भेटघाट गर्न गाह्रो भइरहेको बेला दूतावासले निकै ठूलो झगडा भए सरह सूचना सार्वजनिक गर्नुलाई धेरैले शंकाको दृष्टिकोणले हेरेका छन्। कतिले त नेपालीको इमेज खराब देखाउन दूतावास नै सक्रिय भएको रुपमा अथ्र्याएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न चुनावका लागि यूएईमा भइसक्नुपर्ने निर्वाचन नभएको घटनातर्फ पनि दूतावास बोल्न खोजेको हो कि भन्ने अर्थमा पनि धेरैले बुझेका छन्।

तर, जेहोस्, यस्तो हल्का सूचनाले दूतावासको गरिमामा आँच पुगेको छ।

यूएईमा बसेर नेपाली सञ्चार माध्यममा काम गरिरहेका उमाकान्त पाण्डेले यो विषयमा व्यंग कसेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्–‘अघि पोस्ट भो, अहिले दूतावासको पेजबाट हटाइयो। भोलि गाईजात्रा, बिदा हो कि भनेर पढेको त होइन रहेछ। धेरैबेर घोत्लिएर पढेको अन्तिममा बल्ल मैले बुझे ! दूतावास आबुधाबीमै रहेछ।’

यस्तै यूएईमा व्यवसाय गरेर बसेका पासाङ शेर्पाले लेखेका छन्, ‘आँखा झिम्मिक माल गायब।’

यूएईमा रहेको दूतावासमा धेरै राजनीति मौलाएको र कर्मचारीबीच गुट–उपगुट रहेको कुरा धेरै अगाडिदेखि सुनिदै आएको विषय हो। यस विषयमा प्रवास खबरले श्रम काउन्सिलर थापासँगै बुझ्ने प्रयास गरेको थियो। तर, उनी दूतावासभित्र कर्मचारीबीच खट्पट नभएको भन्दै पन्छिन् खोजिन्। ‘यहाँ लोकल कर्मचारी धेरै हुनुहुन्छ। नेपाली कर्मचारी थोरै छौँ। मलाई चाँही त्यस्तो भए जस्तो लाग्दैन,’ उनले भनिन्।

उनले दूतावासकै निर्णय अनुसार उक्त सूचना सार्वजानिक भएको औल्याइन्। तर, सूचना हटाएको विषयमा भने अनभिज्ञता जाहेर गरिन्। भनिन्, ‘यत्तिकै हावामा हाल्या होइन। टिमसँग सल्लाह गरेर पोस्ट गरिएको हो। उक्त पोस्ट हटाइएको छ र? खोइ मलाई त थाहा भएन। हटाउन चाँहि नहुने हो।’

दूतावासबाट जारी सूचनामा विभिन्न कुराको संकेत गर्न खोजिएको छ। यूएईमा नेपाली–नेपालीबीच झै–झगडा हुने, नेपाली–नेपाली आपसमा मिल्न नसकेर विभिन्न कुराको समस्या उत्पन्न हुने गरेको आशय व्यक्त गरिएको छ। नेपालीले यूएईमा गर्ने व्यवहारले कुटनैतिक समबन्धमा समेत असर पर्न थालेको दूतावासले दावी गर्न खोजेको छ।