तालिबानको पुर्नरागमनपछि अफगानिस्तानमा पहिलो महिला बोर्डिङ स्कुल बन्द, छात्राहरूको दस्तावेज जलाइयो

तालिबानको पुर्नरागमनपछि अफगानिस्तानमा पहिलो महिला बोर्डिङ स्कुल बन्द, छात्राहरूको दस्तावेज जलाइयो photo credit Wnyc

काबुल। दुई दशकअघि जतिबेला तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो, त्यतिबेला महिलालाई स्कुल जानबाट पूर्ण रूपमा बञ्चित गरियो। उनीहरूको सम्पूर्ण कागजपत्र जलाएर खरानी पारिएको थियो।

सन् २००२ को मार्चमा जब अमेरिकी सेनाले तालिबानलाई अफगानी सत्ताबाट भगाए, त्यसपछि अफगानी केटीहरूले नियुक्ति परीक्षा दिएर आफ्नो योग्यता सावित गरेका थिए। यो सँगै छात्राका लागि पहिलो पल्ट बोर्डिङ स्कुल स्थापना गरिएको थियो। २० वर्षपछि सत्तामा तालिबानको पुर्नरागमनले हाल अफगानिस्तानमा महिलाहरूको दस्तावेज जलाउने कार्य पुनः सुरु भएको छ।

शबाना बासिज, ती हजारौं अफगानी किशोरीको पंक्तिमा समावेश थिइन, जसको दस्तावेज तालिबानले जलाएको थियो। उनले फेरि पढाईका लागि परीक्षा दिएकी थिइन। उनी अफगानिस्तानमा स्थापना भएको एकमात्र छात्रा बोर्डिङ स्कुलकी संस्थापक हुन्, जसले गएराती आफ्नो स्कुलमा अध्ययनरत सबै छात्राको दस्तावेज जलाएकी छिन्। उनले छात्रा र उनीहरूको परिवारको सुरक्षाका लागि दस्तावेज जलाउनु परेको प्रतिक्रिया दिएकी छिन्।

शबानाले ट्वीरमा उल्लेख गरेकी छिन्, ‘करिब २० वर्षपछि अफगानिस्तानमा छात्राको लागि स्थापना गरिएको एकमात्र बोर्डिङ स्कुलको संस्थापकको नाताले मैले सबै छात्राको दस्तावेज जलाउन गइरहेको छु। म यो दस्तावेज समाप्त पार्ने उद्देश्यले नभई उनीहरू तथा उनीहरूको परिवारको सुरक्षाका लागि गरिरहेको छु।’

शबानाले स्कुलको स्थापना सन् २००८ मा गरेकी थिइन। हाल विश्व समूदायको नजर अफगानिस्तानमा पुनस्र्थापित तालिबानीतर्फ गएर टिकेको छ। सबैभन्दा बढी चिन्ता छात्राको शिक्षा तथा महिला अधिकारलाई लिएर व्यक्त भएका छन्।
शबानाका अनुसार उनीसँग काम गरिरहेका व्यक्ति तथा छात्राहरू हालसम्म सुरक्षित छन्। तर, अफगानिस्तानमा यस्ता धेरै महिला छन्, जो सुरक्षित छैनन्।

तालिबानको विगत सम्झेर पनि मानिसहरू सशंकित छन्। तालिबान शासनमा सबैभन्दा बढी महिलाहरू नै पिडित भएका थिए। तर, यसपालि राजधानी काबुल कब्जा गरेपछि तालिबानले विगतको गल्ती नदोह¥याउने र अबको शासनमा महिलाको अधिकारलाई सुरक्षित गर्ने आश्वासन दिएको छ। इस्लाममा महिलालाई जुन अधिकार प्रत्योजन गरिएको छ, त्यही अधिकार उपलब्ध गराउने भनाई तालिबानको आएको छ। तालिबानले हालै एउटा भिडियो सार्वजनिक गर्दै महिलाहरू सहज रूपमा स्कुल जाँदै गरेको देखाउन खोजेको थियो।

तर, काबुलमा बसोबास गर्ने एक महिला अधिकारकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भनेकी छिन्, ‘केही दिनपछि विश्वका सबै मिडियाको ध्यान अफगानिस्तानबाट हट्ने छ। मानिसहरूको झुकाव कम हुँदै जानेछ। मिडिया अन्य समाचारतर्फ बढ्ने छन्, त्यतिबेला तालिबानले आफ्नो खेल सुरु गर्नेछ।’

उनले काबुल नै पुरा अफगानिस्तान नभएको र देशको दूरदराजमा के भइरहेको छ, त्यसको खबर उपलब्ध हुन अफ्ठेरो भएका कारण महिला कुन अवस्थामा छन्, त्यो बताउन निकै गाह्रो भइरहेको बताएकी छिन्।

अफगानिस्तानमा हाल तालिबानको डर यति ठूलो छ कि लाखौं मानिस काबुल छोडेर अन्य देश भाग्ने तयारीमा छन्। विमानस्थलको अवस्था भयावह छ। अफगानी महिलाका अनुसार २० वर्षमा उनीहरूले जुन स्वतन्त्रता भोगे र आफ्नो विकाशमा अग्रसर भए, त्यो एकै झट्कामा समाप्त भएको छ।

शबानाले अहिले पनि हिम्मत हारेकी छैनन्। उनले ट्वीट गर्दै भनेकी छिन्, ‘अफगानिस्तानमा महिलाहरूका लागि शिक्षा फैलाउने कार्यमा मेरो जुन योगदान छ, त्यो कम हुने छैन। म थप बलियोसँग यो योजनामा जुट्ने छु।’