विप्लव नेकपाले भन्यो– वेद बोहरा मध्यपूर्वको संयोजक होइनन्

विप्लव नेकपाले भन्यो– वेद बोहरा मध्यपूर्वको संयोजक होइनन्

दोहा। विप्लव समर्थित नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले हालै एउटा विज्ञप्ती सार्वजनिक गर्दै पार्टीको विधान तथा हित विपरित काम गर्ने वेद बोहराविरूद्ध ध्यानाकर्षण गराएको छ।

बोहराले आफूलाई जनप्रगतिशील मोर्चा मध्यपूर्वको संयोजक बताउँदै तल्लो स्तरको कुप्रचार गरेको भन्दै पार्टीले आपत्ति जनाएको हो। पार्टीले बोहराको क्रियाकलापलाई अनुशासनहिन, अराजकता र फुटलाई बढावा दिने किसिमले षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘ विदेशमा रहेर नेपालीहरू माझ चलिरहेको वैज्ञानिक समाजवादी क्रान्ति, पार्टीले गरेको जनसेवाका कामहरूमा समस्त क्रान्तिकारी र प्रगतिशील नेपालीहरूले आफ्नो क्षमता अनुसार सहयोग गरेको र गरिरहेको तथ्य सर्वविदितै छ।’

अभियान चलाउने नेपालीविरूद्ध अनर्गल प्रचार गर्ने, समाजिक सहयोग भाड्ने, पार्टीका नेता कार्यकर्तालाई बदनाम गर्ने, समाजिक सञ्जाल दुरुपयोग गर्ने नक्कली नामबाट सक्रिय गिरोहबाट सतर्क र सजग रहन विभागले सबैमाझ अपिल गरेको छ।

गिरोहमा पार्टीको नाम दुरुपयोग गर्दै भूमाफियासँग कमिशन लिँदै संघर्षलाई कमजोर पार्न बदनियतपूर्ण रुपमा काम भएकोमा चिन्ता व्यक्त गरिएको छ। यस्ता व्यक्तिसँग देश र विदेशका नेपाली सचेत रहन आग्रह गरिएको छ।

बोहरा तथा उनको पछि लागेका व्यक्ति पार्टी सदस्य नरहेको पनि विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्ती नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग इन्चार्ज कंचनले भदौ २ गते प्रकासित गरेका हुन्।