एनआरएनए केन्द्रीय महासचिवमा यूकेबाट विनय अधिकारीकाे उम्मेदवारी

एनआरएनए केन्द्रीय महासचिवमा यूकेबाट विनय अधिकारीकाे उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा बेलायतबाट विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि सचिव पदमा उठ्ने तयारीमा लागेका अधिकारीले अहिले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘विश्वभरिका गैरआवासीय नेपाली साथिहरुले महासचिव पदमा उम्मेदवार दिन आग्रह गर्नुभयो । उहाँहरुको सल्लाह र सुझाव अनुसार महासचिव पदमा उम्मेदवारी दिने अन्तिम निर्णय गरेको हुँ,’ लण्डनबाट अधिकारीले प्रवास खबरसँग भने।

‘विभिन्न पदमा घोषणा गर्ने र अन्तिम समयमा नाम फिर्ता लिएर आफ्नो स्वार्थपूर्ती गर्न उम्मेदवारी दिएको त होइन ?’ भन्ने जिज्ञाशामा अधिकारीको जवाफ थियो, ‘म प्रचार–प्रसार र वार्गेनिङ गर्न आएको होइन, मैलै कहिल्यै पनि दुुईथरी कुरा गर्दैन । अहिले मेरो अन्तिम निर्णय महासचिवमा हो, पछाडी हट्दिन।’

यसअघि आफूले सचिव पदमा उम्मेदवारी घोषणा गर्दै प्रचार अभियानलाई तीव्र बनाइरहँदा संघका अग्रज अभियन्ता र साथीहरुले महासचिव पदमा अघि बढ्न सुझाव दिएपछि निर्णय परिवर्तन गरेको अधिकारीले बताए।

कतिपयले अधिकारीलाई सचिव पदका लागि कसैको टिममा नपरेपछि महासचिव पदमा उम्मेदवारी गरेको आरोप लगाएका छन् । तर, अधिकारीले भने यो आरोप भ्रामक भएको बताए । उनले भने,‘ म लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छु । सबै क्षेत्रमा मेरो राम्रो प्रभाव छ । मेरो उम्मेदवारीले अत्तालिएकाले मविरुद्ध फैलाएको भ्रम हो।’

उनले आफू चुनावी मैदानमा उत्रिएपछि दायाँ–बाँया नसोच्ने पनि बताए । अधिकारीले अगाडी भने,‘हेर्नुस् ! चुनावमा गएपछि हार–जीत भइनैहाल्छ । मलाई सबैको माया छ । यसपटक चुनावी परिणाम मेरै पक्षमा आउँछ भन्नेमा ढुक्क छु। अन्तिम निर्णय हो, दायाँ–बायाँ भन्ने कुरै हुँदैन ।’