एनआरएनए मध्यपूर्व युवा संयोजकमा व्यवसायी अब्दुल वाशिदको उम्मेदवारी

एनआरएनए मध्यपूर्व युवा संयोजकमा व्यवसायी अब्दुल वाशिदको उम्मेदवारी

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) काे मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारबाट अब्दुल वाशिदले उम्मेदवारी घोषणा गरेका छन्।

संघको दशौं विश्व सम्मेलन नजिकिँदै गर्दा हालका आइसीसी सदस्यसमेत रहेका वाशिदले युवाको हितमा काम गर्ने भन्दै आगामी कार्यकालका लागि मध्यपूूर्व युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन नसक्दा देशले आशातीत रेमिट्यान्स भित्र्याउन नसकेको वाशिदको बुझाइ छ। उनले मध्यपूर्वमा कार्यरत नेपाली युवाको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको प्रवास खबरलाई बताए।

‘खाडीको श्रम बजारमा रहेका अधिकांश नेपाली युवा अदक्ष छन्। जसले गर्दा उनीहरुले यहाँ धेरै समस्या भोग्दै आएका छन्,’ वाशिदले भने, ‘मैले अहिले कामदारको मुद्दालाई मुख्य एजेन्डा बनाएको छु।’ श्रमिकका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले सुनाए ।

युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको बताउने वाशिदले मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफूले तयार पारेको प्रवास खबरलाई बताए।

‘मध्यपूर्वी मुलकमा कार्यरत नेपाली युवाहरुको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्ने प्रयास गर्नेछु’, वाशिद भन्छन्, ‘अबको युग युवाहरुको युग हो भन्ने मान्यतालाई स्थापित गर्न लाग्नेछु, जसको लागि मसँग खास योजना तय छन्। त्यसलै मध्यपूर्व युथ कोअर्डिनेटर पद रोजेको हुँ।’

वाशिदले सक्षम युवाहरुलाई एनआरएनमा समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत बताए।

चुनावी नतिजा आफ्नो पोल्टामा परे मध्यपूर्वमा काम गर्ने नेपालीलाई धैरै नयाँ कुरा दिन आफ्नो प्राभवकारी भूमिका रहने उनले प्रतिवद्धता जनाए ।

वाशिदले मध्यपूर्वका नेपालीले आफ्नो उम्मेदवारीलाई स्वाभाकि रुपमा लिएको बताउँदै पूर्णरूपमा साथ पाउने दावी गरे।

नेपालबाट रोजगारका लागि जाने अधिकाशं युवा मध्यपूर्वी देशहरुमा कार्यरत छन्। खाडी मुलुकमै काम गरेर एनआरएनए अभियानमा लागेका वाशिबाट मध्यपूर्वका युवा पिँढीले धेरै अपेक्षा राखेका छन्।

व्यवसायिक यात्रा

लामो समयदेखि कतारलाई कमर्थलो बनाएका वाशिद सन् २०११ बाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका थिए।

वाशिद एनआरएनए आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक भएर समेत काम गरिसकेका छन्।

उनले इलेक्ट्रोनिक क्षेत्रमा आफ्नै ‘ब्राण्ड’ स्थापित गरेका छन्। वाशिदले भाई अब्दुल हाफिज र दाजु अब्दुल कदिर बासिदको सहयोग लिएर ‘बेलाको ब्राण्ड’ स्थापित गरेका हुन्।

कतारमा सफल भएपछि उनको ‘बेलाको ब्राण्ड’ पछिल्लो समय बेलायतमा पनि सञ्चालनमा छ । तत्कालै यो ‘ब्राण्ड’ नेपालमा पनि विस्तार गर्ने तयारीमा जुटेका छन्।

‘बेलाको ब्राण्ड’ आफ्नो जन्मभूमिकोे नामबाट राखिएको उनले बताए। ‘हाम्रो जन्म ठाउँ जनकपुरको बेलाको गाउँबाट यो नाम हामीले जुराएका हौं,’ वाशिदले भने।

यसले एअर कन्डिसनका सामानहरु जस्तै स्प्लीट एसी, विन्डो एसी, फ्रिस्टाइल एसी, क्याचेट एसी, फ्यान लगायतका सामानहरु उत्पादन गरेर बजारमा बिक्री गरिरहेका छ।