एनआरएनए चुनाव : यी हुन् अध्यक्षका दावेदार डा.बद्री केसीका सारथी

एनआरएनए चुनाव : यी हुन् अध्यक्षका दावेदार डा.बद्री केसीका सारथी

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन हुन अब दुई महिना पनि बाँकी छैन। संघको यसपटकको चुनाव प्रत्यक्ष नभइ अनलाइन प्रणालीमार्फत हुँदैछ।

केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढेको छ । नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौड धुपमा व्यस्त देखिन्छन्।

केन्द्रीय नेतृत्वका लागि अहिलेसम्म उपाध्यक्षद्वय डा.बद्री केसी र रवीना थापा चुनावी मैदानमा उत्रिने पक्का भइसकेको छ। यस्तै गतवर्ष कुमार पन्तसँग हार व्योहोरेका कुल आर्चायले पनि पुन :उम्मेदवारी दिने बताइएको छ।

डा. केसी र थापा यतिबेला आफ्नो टिममा कसलाई लैजाने भनी गृहकार्य तथा छलफलमा जुटिरहेका छन्।

यसैक्रममा डा. केसीलाई नेतृत्वमा ल्याउन सघाइरहेका केही मह्त्वपूर्ण व्यक्तिको नामावली प्रवास खबरले प्राप्त गरेको छ।

डा. केसीलाई संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्तको पूर्ण समर्थन रहनेछ । यतिबेला यी अध्यक्षहरु डा.केसीलाई नेतृत्वमा ल्याउन विभिन्न क्षेत्रमा ‘लविङ’ गरिरहेको श्रोतले प्रवास खवरलाई बतायो।

उनीहरुले डा. केसीलाई सहमतिमा अध्यक्ष बनाउन प्रयास गरिरहेको बताइएको छ। एनआरएनए चुनावमा पूर्व अध्यक्षको समर्थनले मह्त्वपूर्ण अर्थ राख्ने गर्दछ।

डा.केसीले आफ्नो टिममा बौद्धिक र संस्थालाई योगदान पुर्याएका व्यक्तिलाई उम्मेदार बनाउने बताउँदै आएका छन्। राजनीतिक दलको आडमा आफूले उम्मेदवारी नदिने डा. केसीको दावी छ।

उनले बुधबार दिउँसो वैदेशिक रोजगार क्षेत्रमा क्रियाशिल पत्रकाहरसँग कुरा गर्दै भने ‘मेरो टिममा राजनीतिभन्दा पनि संस्थालाई माया गर्ने, रातदिन संस्थाका लागि खट्ने र संस्थाको मर्म बुझेका विशिष्ट साथी हुनुहुन्छ। समावेशी टिम हो।’

श्रोतका अनुसार डा. केसीलाई राजनीतिक पार्टीका दुवै खेमाबाट समर्थन छ । उनले वामपन्थी र प्रजातान्त्रिक दुवै खेमामा आस्था भएका उम्मेदवारलाई समेट्दै छन्।

जसमा उनले उपाध्यक्षमा हालका महासचिव डा. हेमराज शर्मा र महेश श्रेष्ठलाई लैजादै छन्। यस्तै महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयद र महासचिवमा गौरीराज जोशीलाई टिममा समावेश गरेका छन्। यी चारै जना प्रजातान्त्रिक (कांग्रेस) खेमाका हुन् । यिनीहरुको कांग्रेस खेमामा बलियो पकट छ।

डा. केसीलाई अमेरिका निवासी संघका सल्लाहकार हरिवोल भण्डारीको पनि समर्थन छ। भण्डारी पनि कांग्रेस निकट हुन्। यसैगरी युरोप क्षेत्रबाट कांग्रेस निकटकै गंगाधर गौतमकाे समेत सहयोग रहने बताइएको छ।

यस्तै मध्यपूर्वबाट राजु सैयदको पनि डा. केसीलाई समर्थन रहनेछ । सैयद जनसम्पर्क समितिको मध्यपूर्व प्रमुख मानिन्छन्। मध्यपूर्वका कांग्रेसीमाझ सैयद लोकप्रिय व्यक्ति हुन्।

त्यसैगरी डा. केसीले वामपन्थी निकट उम्मेदारलाई पनि मिलाएर अघि बढ्दै छन्। श्रोतका अनुसार डा. केसीले पहिला प्रजातन्त्रिक खेमाका उम्मेदार टुंगो लगाइसकेपछि मात्रै वामपन्थी विचारकालाई टिममा समावेश गर्दैछन्।



No ads found for this position