कोरियामा कार्यरत वैज्ञानिक डा. देवी बस्नेतले एनआरएनको सचिवमा उम्मेदवारी दिने

कोरियामा कार्यरत वैज्ञानिक डा. देवी बस्नेतले एनआरएनको सचिवमा उम्मेदवारी दिने

सौल। वरिष्ठ वैज्ञानिक डा. देवी बस्नेतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

दक्षिण कोरियामा लामो समय कार्यरत वैज्ञानिक बस्नेतले यसअघि केन्द्रीय सदस्यको भूमिकामा तीन कार्यकाल काम गरेका थिए।

संघको १० औं महाधिवेशन अक्टोवरको तेस्रो साता हुँदैछ। बस्नेतले सन् २००५ मा कोरियाको सनमुन विश्वविधालयबाट विद्यावारिधी गरेका थिए। ब्याक्टेरियाको जीन इन्जिनियरिङमार्फत औषधी बनाउने सम्बन्धमा एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सोध पत्र प्रकाशन गरिसकेका बस्नेत विगत १५ वर्षदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्।

दक्षिण कोरियाको संस्थापक उपसभापति हुँदै महासचिव तथा तीन कार्यकाल संरक्षकको भूमिका निर्वाह गर्दा उनले नौला तथा रचनात्मक कामको सुरुवात गरेका थिए।

उनको सक्रियतामा बुद्ध नेपाल अभियान, पहिलो पटक अनलाइन भोटिङको थालनी भएको थियो।

डा. बस्नेतले आफ्नो व्यक्तिगत सक्रियतामा कोरियामा रहेका नेपाली कामदारका लागि काउन्सिलिङ सञ्चालनमा ल्याएका थिए। उनले यसका लागि सन् २०१३ देखि कोरियाको विभिन्न ठाउँमा घुम्ति सेवा नै सञ्चालन गरे।

डा. बस्नेत एनआरएनए एसिया प्यासिफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक पनि थिए। कोभिड–१९ को संकटमा कोरियाबाट अतिआवश्यक सामाग्री नेपाल पठाउन उनको महत्वपूर्ण योगदान रहेको थियो।

प्रवास खबरलाई आफ्नो उम्मेदवारीको विषयमा जानकारी दिँदै डा. बस्नेतले भने, ‘संघमा बसेर लामो समय काम गरेको अनुभव छ मलाई। त्यसैले सचिव पदमा उम्मेदवारी दिन लागेको हो।’

डा. बस्नेतको जन्म संखुवासभाको आँखीभूइँ–२ (हाल धर्मदेवी नगरपालिका) भएपनि स्कुलको पढाई मोरङ सिजुवास्थित सौठा माध्यमिक विधालयबाट पुरा गरेका थिए। विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बीएस उत्र्तिण गरेका बस्नेतले कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयबाट जैविक विज्ञानमा स्नाकोत्तर पुरा गरेका थिए।

‘म मुलत एकेडेमीक क्षेत्रमा बढी सक्रिय भए। समाजसेवाको हुटहुटीले नै एनआरएनएमा आवद्ध भएको हुँ,’ क्यान्सर निको पार्ने केमिकल ट्याक्सोल छुट्याउने र त्यसको विशेषता पहिचान गर्ने विषयमा अनुसन्धान गरेका डा. बस्नेत भन्छन्।