एनआरएनए केन्द्रीय निर्वाचन : हङकङबाट तीन उम्मेदार मैदानमा उत्रिने

एनआरएनए केन्द्रीय निर्वाचन : हङकङबाट तीन उम्मेदार मैदानमा उत्रिने

काठमाडौं । २ महिनापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ। यतिवेला दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने दुई महिनापछिको चुनावको गर्मी निकै बढेको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

यसैक्रममा एनसीसी हङकङबाट तीन जनाले आइसीसीमा उम्मेदवारी दिने पक्का भएको छ । सोमबार बसेकाे एनसीसी हङकङको बैठकले त्यहाँबबाट तीन जनालाई चुनावी मैदानमा पठाउने निर्णय गरेको हो।

अध्यक्ष गोकर्ण ढकालले प्रवास खबरलाई दिएको जानकारी अनुसार आइसीसी उपाध्यक्ष, महिला सचिव र एसिया प्यासिफिक उपसंयोजकमा हङकङबाट उम्मेदवारको टुंगो लगाइएको हो। जसअनुसार उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक त्रिलोक गुरुङ, महिला सचिवमा निवर्तमान अध्यक्ष टीका गुरुङ (राधिका) र एसिया प्यासिफिक उपसंयोजकमा आइसीसी सदस्य दिलिपसिंह गुरुङलाई उम्मेदवार बनाउने सहमति जुटेको हो।

यी तीनै जनालाई निर्वाचनमा जीताउन एनसीसी हङकङ एक ढिक्का भएर लाग्ने बताइएको छ। यसअघि निर्विरोध नेतृत्व चयन गरेर चर्चा कमाएको एनसीसी हङकङले आइसीसी चुनावमा पनि सहमतिमा उम्मेदवार खडा गरेको हाे।

कार्य समितिका एक पदाधिकारीले एसपटक संघको केन्द्रीय समितिमा हङकङको दरिलो उपस्थिति रहने प्रवास खबरसँग दावी गरे । ‘हङकङका उम्मेदावार निराश हुँदैनन् भन्नेमा हामी ढुक्क छौँ,’ ती सदस्यले प्रवास खबरसँग भने।

महिला सचिवमा उम्मेदावरी दिने तयारीमा रहेकी टीका गुरुङ (राधिका) लाई बलियो उम्मेदवारको रुपमा हेरिन्छ। यसअघि दुई कार्यकालसम्म एनसीसी हङकङको नेतृत्व सम्हालेकी गुरुङले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएकी छिन्। उनी विश्वभरका गैरआवासीय नेपालीमाझ आफ्नो पकड जमाउन सफल मानिन्छिन्।