एनआरएनएको दुई दशक लामो इतिहास चिर्न अध्यक्षमा मेरो उम्मेदवारीः रवीना थापा

एनआरएनएको दुई दशक लामो इतिहास चिर्न अध्यक्षमा मेरो उम्मेदवारीः रवीना थापा

रवीना थापा, गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष। आगामी अक्टुबरमा आसन्न एनआरएनएको निर्वाचनका लागि अध्यक्षको बलियो प्रतिस्पर्धी मानिन्छिन्। अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन्।

उनी जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बन्न लागेकी छिन्। विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा सक्रिय थिइन।

नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन्। एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन।

उनी आफ्नो कार्यकालमा एनआरएनएमा महिला सहभागिता बढेकोमा दंग छिन्। उनको एक मात्र उद्देश्य छ–एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको छ। उनी यसका लागि आफू योग्य उम्मेदवार भएको दावी पनि गर्छिन।

एनआरएनएमा महिलाको भूमिका, चुनौती र नेतृत्वको विषयमा प्रवास खबरका लागि बिनेश खनालले अध्यक्षको प्रत्यासी थापासँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । एनआरएनए स्थापनाको दुई दशकमा यसले प्राप्त गरेका उपलब्धी के देख्नु हुन्छ?

एनआरएनए स्थापना भएदेखि अहिलेसम्म धेरे काम भएका छन्। धेरै क्षेत्रमा एनआरएनएले उल्लेखनीय योगदान पुर्याएको छ। यस अवधिमा संस्थाको सञ्जाल संसारभरी पुगेको छ। विदेशमा रहेका लाखौं नेपालीको साहराको केन्द्र एनआरएनए बनेको छ। यो गौरवको विषय हो।

अहिले विदेशमा बस्ने नेपालीले नागरिकता प्राप्त गर्न पाउने व्यवस्था अन्तिम चरणमा छ। नेपालमा १० अर्बको सामूहिक लगानी भित्र्राउन सबै कानूनी प्रावधान पूरा गरेर काम अगाडि बढेको छ। योबाहेक विदेशमा आर्जन गरेका ज्ञान र सीपले जन्मभूमिलाई योगदान पुर्याइरहेका छौँ।

युवा र विदेशमा जन्मेका दोस्रो पुस्तालाई देशसँग जोड्न विभिन्न काम भएका छन्।

संस्थामा बसेर पूर्वअध्यक्षहरूले जे–जति काम गर्नु भयो, उहाँहरु सबैप्रति मेरो उच्च सम्मान छ। नेपालमा आएका प्राकृतिक विपत्तिमा पनि एनआरएनले ठूलो सहयोग गरेको छ।

यतिबेला संस्था यति वृहत भएको छ कि, असम्भव भनिएका काम गर्न पनि सक्षम छ। म यसलाई मुख्य उपलब्धी मान्छु।

उपाध्यक्ष भएर तपाईले काम गर्दाको उपलब्धी के–के सम्झनु हुन्छ?

म उपाध्यक्ष भएपछि कोरोना जस्तो भयानक महामारी सुरु भयो। धेरै समय हामीहरूले महामारीसँग जुध्नु प¥यो। अहिले पनि कोरोनाको संकट समाप्त भइसकेको छैन। प्रतिकूल परिस्थितिमा पनि हामीले काम गरेका छौं। यस अवधिमा महत्वपूर्ण काम भएका छन्। अघिल्लो कार्यसमितिले सुरु गरेका तर सम्पन्न भइनसकेका काम यसपटक पूरा भएका छन्। यसको ज्वलन्त उदाहरण लाप्राक प्रोजेक्ट हो।

यी बाहेक कोरोना अवधिमा विदेशमा समस्या परेका नेपालीलाई अविभावकत्व प्रदान गर्ने काम पनि एनआरएनएले गरेको छ। सरकारभन्दा पहिले हामीले सहयोग पुर्याएका थियौं। सरकार नपुगेको ठाउँमा एनआरएनए पुग्यो। विदेशमा हामी आफैं समस्यामा थियौं। जटिल परिस्थितिमा पनि हामीले करोडौंको स्वास्थ्य सामग्री विदेशबाट नेपाल पठायौं। अक्सिजन पठाएर आफन्तको ज्यान बचाउन सफल भयौं।

कोभिड–१९ को कारण योजनामा रहेका केही काम भने अधुरा रहे। तर, काम धेरै भएका छन्। महामारीसँग जुधेर अगाडि बढ्नु हाम्रो लागि चुनौती थियो।

हामी यसअघि पैसा नभएको मान्छे एनआरएनएको नेतृत्व तहसम्म आउन सक्दैन भन्ने जुन भ्रम थियो, त्यसलाई चिर्न सफल भएका छौं। अहिले सक्षम र बौद्धिक वर्ग जोसुकै पनि संस्थामा अटाउने वातावरण सिर्जना भएको छ। यसलाई पनि उपलब्धी मान्न सकिन्छ।

एनआरएनएमा युवा वर्गको आकर्षण न्यून देखिन्छ। महिलाको सहभागिता कम छ। तपाईं आफै युवा तथा महिला विभाग संयोजक, यस क्षेत्रमा सुधारका काम के–के भए?

हो, मैले युवा तथा महिला विभागको नेतृत्व गर्दै गर्दा धेरै कुरामा परिवर्तन भएको छ। युवा तथा दोस्रो पुस्तालाई एनआरएनएमा आकर्षित तुल्याउन ‘एनआरएनए सिङ्गीङ आइडल’ जस्ता कार्यक्रमको आयोेजना भयो। यसले डायस्पोरामा सकारात्मक सन्देश छोडेको छ। खेलकुद क्षेत्रलाई अघि बढाउन विभिन्न योजना बनेका थिए तर कोभिडका कारण सबै लागु गर्न सम्भव भएन। बालबालिकाका लागि पनि काम भएको छ।

महिलाको सवालमा धेरै काम भए। क्षेत्रगत हिसाबले समस्या पहिचान गरेर समाधानका लागि उपाय खोजीको काम भयो। विशेषत मानव तस्करीको चंगुलमा परेर रोजगारीको लागि खाडीमुलुक पुगेका महिला दिदीबहिनको समस्यामा केन्द्रीत थियौं।

प्रवास खबरसँग अन्तरर्वाता दिंदै रवीना

संघलाई युवा र महिला मैत्री बनाउन म जोडतोड्का साथ लागे। जसको महत्वपूर्ण उपलब्धी अहिले सबैको आँखा अगाडि छ। अहिले एनसीसीमा धेरै महिलाले अध्यक्ष पद जितेर आउनु भएको छ। पराजित भएका ठाउँमा पनि सशक्त मत पाउनु भएको छ। यसले के दर्साउँछ भने एनआरएनएमा महिलाको सहभागिता व्यापक हुँदै गएको छ। हाम्रो विश्लेषण अनुसार लगभग ३० प्रतिशत महिलाको सहभागिता भएको अनुमान छ। हिजोको अवस्थामा संघमा महिलाको सहभागिता ५ प्रतिशत मात्र थियो। यो एकदमै सुखद पक्ष हो। जसको श्रेय हामी सबैलाई जान्छ।

संघमा महिला र युवाको सहभागिता कम भएका कारण विधान संसोधन भएको छ। अहिले विभिन्न समिति तथा कार्यकारी पदमा युवा तथा महिलाका लागि १५ वटा कोटा छुट्याइएको छ। यो ठूलो उपलब्धी हो। म यसलाई गर्वको विषय मान्छु। एनआरएनएमा यो नयाँ सुरुवात पनि हो। जुन मेरो विभागले गरेको काम हो।

प्रसंग बदलौं, एनआरएनएमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी तेज भएको छ। नेतृत्वको दौडमा तपाई आफै उत्रिने चर्चा छ। के तपाईले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गर्नु भएको हो?

हो, आउँदो कार्यकालका लागि मेरो दावेदारी स्वभाविक रहन्छ। अहिले उपाध्यक्ष पदमा छु। अब माथि जाने बाटो भनेकै अध्यक्ष पद हो। मैले यसपालि नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेको छु। त्यसको तयारी पनि सुरु भइसकेको छ।

अध्यक्ष पदको तिब्र चहाना किन?

एनआरएनएको दुई दशक लामो इतिहासमा हालसम्म महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन्। जमुना घले भाउजुले आँट गर्नु भएको थियो। तर, सफल हुनु भएन। महिला पनि सक्षम छन्। महिलाले पनि एनआरएनए हाँक्न सक्छन्। मेरो भनाई त अहिले सबैले सहमतिमा मलाई (महिला) नेतृत्व छोड्नु पर्छ भन्ने नै हो। सोच परिवर्तन गर्न जरुरी छ। अध्यक्ष पदमा मेरो सर्वस्विकार्यताले एनआरएनएमा महिला सहभागीतालाई न्याय मिल्ने छ।

तर, अध्यक्ष बन्न तपाईले ‘मिडिया प्रोपगाण्डा’ गरेर बार्गेनिङको लागि उम्मेदवारी घोषणा गरेको भन्ने आरोप छ नि! वास्तविकता के हो?

हेर्नुस् यो केटाकेटी खेलेको होइन। हावा कुराका पछि नलाग्नुहोस्, नगर्नुहोस् पनि। यो सबै मलाई पछाडि पार्न गरिएको हल्ला हो। मलाई नेतृत्वमा स्थापित हुन नदिन केही समूहले रचेको प्रपञ्च हो।

म उपाध्यक्षमा १२ सयभन्दा बढी मत पाएर विजयी भएकी उम्मेदवार हुँ। यो ‘प्रोपगाण्डा’ कसरी हुनसक्छ? म अध्यक्षको पनि प्रवल दावेदार भएको हुनाले मेराविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ।

संघमा सामाजिक काम गर्न जोडिएकी व्यक्ति हुँ म। यसबाहेक मेरो दोस्रो कुनै स्वार्थ छैन। एनआरएनएको निर्वाचनमा पैसाको चलखेल नहोस् भन्न कै लागि मेरो उम्मेदवारी हो।

मेरो आफ्नै व्यवसाय छ। दुई वटा छोरा कमाउने भइसकेका छन्। सबै कुराले पुगेको छ। सबै कुरा हुँदाहुँदै मलाई के चाहियो र? के–का लागि बार्गेनिङ गर्नुपर्यो?

यस्ता हल्ला फिँजाइदा दुःख लागेका छ। तर, म पछि हट्दिन। अघि बढ्छु। एनआरएनएको इतिहासमा महिला नेतृत्वमा आउनु पर्छ। म ढुक्क छु, चुनावी नजिता मेरो पक्षमा आउँछ भन्नेमा।

तपाई माथि अहिले दुई वटा आरोप लाग्ने गरेको छ। पहिलो आरोप– अर्को पटकको निर्वाचनमा अध्यक्ष पदको टिकट सुनिश्चित गर्न यसपालि नै उम्मेदवारी दिएको भन्ने आरोप र दोस्रो– कसैको टिममा नपरेपछि उपाध्यक्ष दोहर्‍याउन अध्यक्ष पदमै उम्मेदवारी दिएको भन्ने, के यी आरोपमा सत्यता छ?

म विभिन्न संघसंस्थामा काम गर्न लागेको ३० वर्षभन्दा बढी भइसक्यो। जापानदेखि अमेरिकासम्म एनआरएनएबाहेक अन्य संस्थामा पनि काम गरेकी व्यक्ति हुँ। अहिले पनि विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छु। सामाजिक संस्थामा काम गर्दा मैले कहिल्यै बार्गेनिङ गरिन र गर्दिन पनि। यी सवै झुठा आरोप हुन्।

सबै कुराले सक्षम भएर नै मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ। यसमा मलाई विश्वभरीका शुभेच्छुकको साथ र सहयोग छ। म नेतृत्व हाँक्न यसपालि नै तयारीका साथ उभिएको छु, अर्काे सालको लागि होइन।

उपाध्यक्ष भएर मैले काम गरिसकेँ। त्यही पदमा दोहोरिने चाहना छैन। चाहेकी भए बार्गेनिङ जरुरी थिएन। अघिल्लो चुनावमा १२३२ भोट पाएर विजयी भएकी हुँ। मलाई दोहर्‍याएर उपाध्यक्ष बन्नु छैन। अध्यक्षमा नै मेरो दावेदारी हो। यो रवीना थापाको मात्र नभएर समग्र गैरआवासीय नेपालीको माग हो।

तपाई बसोबास गर्ने अमेरिकालगायत अन्य देशमा प्रतिनिधि छनोटको विषयमा विवाद देखियो। तर, तपाई छुट्टी मनाउन नेपालमा हुनुहुन्छ, यो विषय कसरी सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ?

हो, विवाद देखिएको सत्य हो। विवाद हुनुभन्दा अगाडिदेखि नै म नेपालमा छु। मेरो विचारमा एनआरएनए भनेको सामाजिक संस्था हो। सामाजिक संस्थामा विवाद निम्त्याउनु हुँदैन। यसले राम्रो सन्देश जादैन। एनआरएनएको प्रतिनिधि छनोट सम्बन्धलाई लिएर विधानमा स्पष्ट किटान गरिएको छ। यस्ता विवाद आएको खण्डमा व्यक्तिले के भन्छ भन्दा पनि विधान बमोजिम हुनुपर्छ।

एनआरएनएको चुनावमा राजनीतिक दलको समर्थन र शरण आवश्यक पर्छ भन्छन्, तपाई डेमोक्र्याट पनि। अध्यक्ष बन्न कुन नेताको शरण लिनुभएको छ?

एनआरएनए विशुद्ध गैरराजनैतिक संस्था हो। यसमा राजनीतिक रङ मिसाइनु हुँदैन। म यस कुरामा क्लियर छु। एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु हुँदैन।

हो, म डेमोक्रयाट (कांग्रेस) हुँ। जन्मिदैं काग्रेस। बुवाको पालादेखि नै हाम्रो परिवार कांग्रेसी हो। विदेशमा पनि कांग्रेस निकट कै जनसम्पर्क समितिमा आबद्व भएँ। यहाँबाट मलाई धेरैले चिन्नु भयो, सामाजिक काम पनि धेरै गरियो।

तर, एनआरएनएको जिम्मेवार पदमा आबद्व भएपछि राजनीतिमा सक्रिय छैन। सानैदेखि आबद्व भएकोले (कांग्रेस) सद्भाव हुनु स्वभाविक हो। त्यसैले मलाई जनसम्पर्क समिति र नेपालमा कांग्रेस निकट व्यक्तिले माया गर्नुहुन्छ।

नेपाल आएकोबेला मेरो नेतागोतासँग भेटघाट हुन्छ। तर, एनआरएनएमा चुनाव लड्न कहिले पनि नेतासँग टिकट माग्न गइन्। जरुरी पनि छैन। एनआरएनएको चुनाव लड्न नेपालका नेताले टिकट दिइरहनु आवश्यक छैन।

पार्टी (कांग्रेस) बाट अहिलेसम्म केही मागेको छुइन्। बरु उल्टै सहयोग गरेकी छु। यत्ति हो, अहिले मैले उम्मेदवारी दिने भनेपछि उहाँहरू (कांग्रेसीहरू) ले मलाई आर्शिवाद दिनु भएको छ। यो स्वाभिक जस्तो मलाई लाग्छ। मैले पनि उहाँहरुले दिएको आशिर्वादलाई गह्रण गरेकी छु। जनसम्पर्क समितिबाट हुने माया पनि मैले नै पाउने छु।

तर, गत वर्ष कुमार पन्तसँग पराजित हुनुभएका डेमोक्र्याट उम्मेदवार कुल आचार्य पनि यसपालि दोहर्‍याएर निर्वाचन लड्दै हुनुहुन्छ भन्ने चर्चा छ। यसो हुँदा पार्टीबाट पाउने आशिर्वाद बाँडिएला नि?

हेर्नुस्! चुनावमा को लड्न आउँछ, को आउँदैन मेरो टाउको दुखाईको विषय होइन। कोही आउँछ भनेर म चुनावी मैदानमा उठ्न लागेकी पनि होइन। चुनाव लड्न तयारीका साथ आएको छु, खुट्टा कमाएको छैन। मेरो कुनै कुरामा कमजोरी छैन।

तपाईले कुल दाईको कुरा उप्काइहाल्नु भयो। उहाँ गत वर्ष पनि चुनावी मैदानमा हुनुहुन्थ्यो। अहिले उहाँ फेरि लड्ने भन्ने मैले पनि सुनेकी हुँ। मेरो वुझाइमा उहाँले दोहर्‍याएर चुनाव नलड्दा राम्रो हुन्थ्यो। हार–जीत सामान्य कुरा हो। अघिल्लो निर्वाचनमा पराजित हुँदा पनि संस्थाले उहाँलाई उच्च सम्मान दिएको हो। अब उहाँले अरुलाई ठाउँ दिनुपर्छ। यसले उहाँको उचाइ थप अग्लो हुनेछ।

तर, मलाई उहाँ उठे पनि, नउठेपनि केही फरक पर्दैन। मलाई हुने सहयोग, जसरी पनि भइहाल्छ।

मैले अर्का प्रत्यासी बद्री दाई (डा.बद्री केसी) लाई पनि यसपालि महिलालाई सहमतिमा नेतृत्व छोड्दिनुस् भनेर अनुरोध गरिरहेकी छु। महिला भएकै आधारमा साहानुभूति देखाएर भन्दा पनि महिलाले नेतृत्व गर्न पाउनुपर्छ भनेर भनेकी हुँ।

उहाँहरु दुवै चुनाव लडे, मलाई झन् फाइदा हो। चुनाव जित्छु भन्नेमा म ढुक्क छु।

तपाई आफै एक्लै लड्दै हुनुहुन्छ कि टिम पनि छ?

म कुनै पनि कुरा बच्चा जस्तो यो–त्यो भनेर हचुवाको भरमा गर्दिन्। टिमको जहाँसम्म कुरा छ, गृहकार्य नभएको होइन। भएको छ। साथीभाइको सल्लाह बमोजिम संस्थाका लागि योग्य व्यक्ति मेरो टिममा हुनुहुनेछ।

अन्त्यमा, तपाईलाई केही भन्न मन लागेको छ?

संस्थामा मैले पुर्याएको योगदानको मुल्यांकन यसपालि हुनेछ भन्नेमा म पूर्ण आशावादी छु। मलाई संसारभरका गैरआवासीय नेपालीले सहयोग गर्नुहोला। तपाईको भावना बमोजिम संस्थालाई गतिशिल बनाउन काम गर्नेछु।