अफगानिस्तानबाट नेपाली फर्काउन सरकार मौन, दिल्ली दूतावास भन्छ– ढुक्क भएर बस्ने अवस्था छैन

अफगानिस्तानबाट नेपाली फर्काउन सरकार मौन, दिल्ली दूतावास भन्छ– ढुक्क भएर बस्ने अवस्था छैन तस्वीर : बीबीसी

काठमाडौं। अफगानिस्तानमा तालिबानको बढ्दो प्रभावसँगै अन्य देशका सरकारले आफ्नो नागरिकलाई फिर्ता बोलाउन थालेपनि नेपाल सरकार मौन देखिएको छ।

युद्वका कारण अफगानिस्तानमा कार्यरत नेपालीहरू उच्च जोखिममा परेका छन्। नेपाल  सरकार भने अफगानिस्तानबाट नेपाली फर्काउने विषयमा कुनै निर्णय गरेको छैन।

अफगानिस्तान हेर्ने भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले हालसम्म नेपालीहरू सुरक्षित भएको बताएपनि भविस्यको विषयमा भन्न नसकिने जानकारी दिएको छ।

दिल्लीस्थित दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले प्रवास खबरसँग टेलिफोन कुराकानी गर्दै भने, ‘पछिल्लो परिस्थिति हेर्दा ढुक्क भएर बस्ने अवस्था छैन। विगतको घटनाले पनि हामीलाई दुःखी नै बनाएको छ।’

अफगानिस्तानमा  कति नेपाली छन् यसबारे ठोस तथ्यांक सरकारसँग छैन। पछिल्लो १० वर्षको तथ्यांक हेर्दा ४ हजार ४ सय ७६ नेपाली पुगेको देखिन्छ।

अफगानिस्तानमा प्रायः नेपालीहरू सुरक्षागार्ड र विभिन्न अन्तर्राष्ट्रिय मिशनहरूमा कार्यरत छन्। सुरक्षागार्डमा कार्यरत रहेका कारण नेपालीहरू उच्च जोखिममा छन्।

दिल्ली दूतावासका अनुसार गत वर्ष मात्र ११ सयभन्दा बढी नेपाली अफगानिस्तान पुगेका थिए।

विगत एक सातादेखि अफगानिस्तानको सुरक्षा अवस्थालाई हेरेर अन्तर्राष्ट्रिय नियोगहरूले पनि चिन्ता व्यक्त गरिरहेका छन्। हाल अफगानी सुरक्षा फौज र तालिबान लडाकुबीच द्धन्द्ध चर्किएको अवस्था छ। राजधानी काबुलबाहेक अन्य क्षेत्रमा तालिबानी लडाकुले पकड जमाइसकेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुवेदी भन्छन्, ‘द्धन्द्ध बढेपछि केही नेपाली फर्किसक्नु भएको छ। केही फर्किने क्रममा हुनुहुन्छ। कतिपय आकर्षक जागिरका कारण अहिले पनि रोजगारीमै हुनुहुन्छ।’

दूतावासका अनुसार हाल विभिन्न संयन्त्र प्रयोग गरेर त्यहाँ रहेका नेपालीको आधिकारिक डाटा पत्ता लगाउने प्रयास भइरहेको छ। ‘अफगानिस्तानमा रहेका विभिन्न देशका दूतावास, अन्य मिशन, तथा संघसंस्थासँग हामी निरन्तर सम्पर्कमा छौँ। त्यहाँ कार्यरत नेपालीको अवस्था बुझिरहेका छौँ। अहिलेसम्म सुरक्षित रहेको भन्ने जानकारी पाएको अवस्था हो,’ उपनियोग प्रमुख सुवेदीले भने।

उनले अफगानिस्तानमा रहेका नेपालीलाई आफू बसेको ठाउँको अवस्था बिग्रिएको खण्डमा तत्काल फर्किन र दूतावासको सम्पर्कमा आउन अनुरोध गरिएको बताए।

उनले भने, ‘अहिलेसम्म त्यहाँबाट हामीलाई समस्या पर्याे भनेर कोही नेपालीले सम्पर्क गर्नुभएको छैन। हामी सक्रिय भएर नै त्यहाँको अवस्था नियालिरहेका छौं। दूतावासको टिम नै अफगानिस्तान केन्द्रीत छ।’

सुवेदीले नेपालीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको पनि बताए। ‘त्यहाँको कम्पनीले पनि नेपालीलाई मानसिक रुपमा तयार भएर बस्न भनेको छ,’ सुवेदीले भने।

अफगानिस्तानमा नेपालीहरू आकर्षक तलबमा कार्यरत छन्। त्यसैले जोखिममा पनि जागिर छोडेर नेपाल फर्किने निर्णय लिन सकिरहेका छैनन्। ‘प्रायः नेपाली कार्यरत रहेको क्षेत्र काबुल हो। काबुल अहिलेसम्म सुरक्षित नै छ,’ उनले भने।

यस विषयमा दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग सम्वन्य गरिरहेको बताएको छ। अफगानिस्तानको अवस्था बिग्रिएपछि भारतलगायत अन्य देशले भने आफ्ना नागरिक धमाधम फर्काइरहेको छ।