डा. केसीको समूहबाट को–को बन्दै छन् उपाध्यक्ष ?

डा. केसीको समूहबाट को–को बन्दै छन् उपाध्यक्ष ?

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचन सम्पन्न हुन तीन महिनाको समय पनि बाँकी छैन। यस्तो अवस्थामा चुनावलाई लिएर सरगर्मी बढ्नु स्वभाविक नै हो।

एनआरएनएको दसौं विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा हालसम्म डा.बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्। यी दुवै हाल एनआरएनएको उपाध्यक्ष पदमा कार्यरत छन्।

चुनावको तिथि नजिकिँदै जाँदा प्यानल बनाउने कार्य पनि भित्री रुपमा सुरु भएको छ। डा. केसीले बुधबार पत्रकार टोलीसँगको भेटघाटमा आफ्नो समूहमा राजनीतिक भन्दा बौद्धिक व्यक्तित्व समावेश हुने बताएका थिए।

हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ। प्रवास खबरलाई प्राप्त सूचना अनुसार डा.केसीले आफ्नो टीमबाट उपाध्यक्षमा लैजाने खुलातर्फको एक जना उपाध्यक्षबाहेक सबैको टुंगो लगाइसकेका छन्।

श्रोतका अनुसार वर्तमान महासचिव डा.हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र प्रवक्ता डिबी क्षेत्री खुलातर्फको उपाध्यक्षमा उठ्ने सम्भावना बलियो छ। यस्तै महिला उपाध्यक्षमा साउदी अरबबाट यासिम बेगम र युवा उपाध्यक्षमा अफ्रिकी क्षेत्रीय संयोजक रोशन थापालाई समावेश गरिएको श्रोतको भनाइ छ।

खुलातर्फ बाँकी एक जनामा कतारबाट संघका वर्तमान सचिव आरके शर्मा, अफ्रिकाबाट संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा, अमेरिकाबाट निर्वमान अध्यक्ष सुनिल साह, अष्ट्रेलियाबाट धर्मराज अधिकारी र वर्तमान उपाध्यक्ष अर्जुन श्रेष्ठको चर्चा चुलिएको छ। डा. केसीले सहमतिमा यी मध्ये एक जनालाई उपाध्यक्षमा उठाउने सम्भावना प्रबल छ। अरुलाई अन्य पदमा व्यवस्थापन गर्ने श्रोतको भनाइ छ।