डा. केसी भन्छन्– बौद्धिक तथा श्रमिक साथीको सहयोगले चुनाव जित्नेमा ढुक्क छु

डा. केसी भन्छन्– बौद्धिक तथा श्रमिक साथीको सहयोगले चुनाव जित्नेमा ढुक्क छु फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका उम्मेदवार डा. बद्री केसीले राजनीतिक जोडघटाउ भन्दा पनि संस्थामा लामो समय क्रियाशील बौद्धिक तथा श्रमिक सदस्यको सहयोगले चुनाव जित्ने बताएका छन्।

एनआरएनएको दसौं विश्व सम्मेलन २३–२५ अक्टोबरमा हुँदैछ। यही सम्मेलनमार्फत एनआरएनएको नेतृत्व परिवर्तन हुँदैछ। हाल संघको उपाध्यक्ष रहेका डा. केसी अध्यक्षका बलियो दावेदार मानिन्छन्।

उनले बुधबार बिहान काठमाडौंमा पत्रकारहरूसँग भेटघाट गर्ने क्रममा भने, ‘हाम्रो टिममा राजनीतिभन्दा पनि संस्थालाई माया गर्ने, रातदिन संस्थाका लागि खट्ने र संस्थाको मर्म बुझेका विशिष्ट साथी हुनुहुन्छ। यसैले राजनीति भन्दा पनि संस्थामा योगदान पु¥याएका बौद्धिक व्यक्तिको सहयोगले चुनाव लड्दै छु।’

केही समयअघि रुसबाट नेपाल फर्किएका डा.केसी एनआरएनएको मुद्धालाई लिएर राजनीतिक भेटघाटमा व्यस्त थिए। उनले यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए।

उनले शीर्ष राजनीतिक नेतासँगको भेटलाई संस्थाको हितसँग जोडेर भने, ‘मेरो नेपालका राजनैतिक दलसँग कुनै स्वार्थ छैन। २० वर्ष भयो मैले नेपालको नागरिकता त्यागेको। हाल रुसको नागरिकता छ। नेपालको राजनीतिसँग मेरो कुनै साइनो छैन। म मेरो जन्मभूमि र विदेशमा रहेका नेपालीको हितको लागि मात्र एनआरएनएमा जोडिएको हुँ।’

सन् २००३ मा एनआरएनए स्थापना हुँदादेखि नै डा.केसी सक्रिय छन्। उनी एनआरएनए स्थापनाको परिकल्पनाकार मध्ये एक मानिन्छन्। पत्रकार भेटघाटमा उनले एनआरएनएको मुद्धामा आफू पहिलेदेखि नै स्पस्ट रहेको बताए।

उनले राजनीतिक दलको आडमा आफूले उम्मेदवारी नदिने पनि प्रष्ट पारे। डा. केसी आफूलाई श्रमिक मैत्री भन्न रुचाउँछन्। हाल एनआरएनएको पञ्जिकृत सदस्यमा श्रमिकको हिस्सा बढेको हुनाले आफ्नो जित सुनिश्चित भएको बताए

एनआरएनएको अध्यक्ष पदका लागि हालसम्म डा. केसी र अर्की उपाध्यक्ष रविना केसीले उम्मेदवारीको घोषणा गरेका छन्। गत निर्वाचनमा कुमार पन्तसँग पराजय भोगेका सल्लाहकार कुल आचार्यले पनि नेतृत्वका लागि उम्मेदवारी दिने चर्चा चलेको छ। तर, हालसम्म उनले कुनै घोषणा गरेका छैनन्।