विमानस्थलमा र्‍यापिड परीक्षण नभएपछि यूएईका नेपाली आक्रोसित, भन्छन्– सरकार लुटेरा भयो

विमानस्थलमा र्‍यापिड परीक्षण नभएपछि यूएईका नेपाली आक्रोसित, भन्छन्– सरकार लुटेरा भयो

दुबई। नेपाल सरकारको चरम लापरवाहीका कारण दुबई फर्किन नपाएका नेपाली श्रमिकको रोजगारी गुम्ने खतरा बढेपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपालीहरू आक्रोसित देखिएका छन्।

हाल यूएईमा झण्डै तीन लाखको हाराहारीमा नेपाली कार्यरत छन्। बिदामा घर  फर्किएका हजारौं नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले र्‍यापिड टेस्टका लागि पीसीआर मेशिन उपलब्ध नगराउँदा अलपत्र परेका छन्।

यूएई सरकारले आवासीय भिसा प्राप्त नेपाली श्रमिकलाई ५ अगस्टदेखि आगमन खुला गरेको थियो। यसअघि कोरोना संक्रमणको जोखिम उच्च बिन्दुमा रहँदा यूएईले नेपाललाई ‘रेड जोन’ मा राखेको थियो।

यूएईले नेपाली श्रमिकको आगमनलाई सहज तुल्याएपनि उसले आफ्नो देश प्रवेश गर्नुभन्दा ४ घण्टाअघि आरडी पीसीआर परीक्षणलाई अनिवार्य गराएको थियो। यसको जानकारी आबुधाबीस्थित नेपाली दूतावासले सरकारलाई उपलब्ध गराएपनि सरकारले ‘कानमा तेल’ हालेर बस्दा विगत ६ दिन यतादेखि नेपाली श्रमिक दुबई उड्न पाएका छैनन्।

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सहज तुल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आरडी पीसीआर परीक्षणका लागि मेसिन राख्नुपर्ने थियो। तर, सरकारको चरम लापरवाहीका कारण दुबई उड्न नपाएका नेपालीले सोमबार र मंगलबार विमानस्थलमै हंगामा गरेका थिए।

सरकारी रवैयाकै कारण थुप्रै नेपालीको रोजगारी संकटमा पर्ने देखिएपछि यूएईमा कार्यरत नेपालीले मन्त्री तथा नेताहरूलाई गाली गरेका छन्।

दुबईमा लामो समयदेखि कार्यरत अमृत मगरले सरकारप्रति आक्रोस पोख्दै लेखेका छन्,‘सबै मन्त्री–नेता घटिया हुन्। देशको लागि त केही गरेनन्, परदेशमा रगत पसिना बगाएर आफ्नो ज्यानलाई आहुती दिएर रेमिट्यान्स भित्र्र्याउने श्रमिकको लागि भए पनि केही गर्नु पर्ने।’

यस्तै, श्वेता थापाले पनि सरकारप्रति कटाक्ष गर्दै लेखेकी छिन्, ‘लाज लाग्नु पर्ने नेपाल सरकार।’ पछिल्लो समय नेपाली राजनीतिमा खुबै प्रचलनमा रहेको ‘कम्फर्टेबल’ शब्दप्रति ब्यंग गर्दै तुलसी गौतम लेख्छन्, ‘कम्फर्टेवलको सरकार केही त गर।’

यस्तै, डाँडाघरे दिवाकर थापाले सरकारको भर नपर्न सबै नेपालीमाझ आग्रह गरेका छन्। उनले बरु यूएईमा कार्यरत सबै नेपाली मिलेर एउटा ¥यापिड टेस्ट मेशिन सरकारलाई उपहार दिन आग्रह गर्दै लेखेका छन्, ‘हामी यूएई बस्ने सबै नेपाली मिलेर एउटा र्‍यापिड टेस्ट मेशिन लगिदिम्। सरकारको भर नपरौं। लाचारी सरकार।’

सरकारप्रति आक्रोस पोख्नेमा केशव न्यौपाने पनि छन्। उनले सरकारलाई लुटेरा भन्दै लेखेका छन्, ‘नेपाल सकारलाई अझै लुटेर पुग्या छैन।’

यो पनि पढ्नुहोस्

सरकारको चरम लापरवाहीले दुबई उड्न ठिक्क परेका श्रमिक अलपत्र, विमानस्थलमा हंगामा