कतार : दिउँसोको चर्को घाममा काम लगाउने १०६ कम्पनीलाई कारवाही

कतार : दिउँसोको चर्को घाममा काम लगाउने १०६ कम्पनीलाई कारवाही फाइल फोटो

दोहा । दिउँसोको चर्को घाममा श्रमिकहरुलाई काममा लगाउने कतारका १०६ वटा कम्पनीलाई कारवाही गरिएको छ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले १ जुलाइदेखि ३१ जुलाइसम्म निरीक्षणका क्रममा ती कम्पनीले श्रमिकलाई दिउँसो घाममा काम लगाएको भेटाएको थियो । मन्त्रालयका अनुसार ती कम्पनी तीन दिनसम्मका लागि सञ्चालन हुन नपाउने गरी बन्द गरिएको छ। देशका विभिन्न भागमा रहेका ती अधिकांश कम्पनी निर्माण क्षेत्रसँग सम्बन्धित रहेको बताइएको छ।

कतारमा हरेक वर्ष गर्मीको समयमा दिउँसो काम लगाउन प्रतिबन्ध गरिन्छ । यस वर्ष सो प्रतिबन्ध १ जुनदेखि १५ सेप्टेम्बरसम्मका लागि जारी गरिएको थियो। सो प्रतिबन्धित व्यवस्थाअनुसार बिहान १० बजेदेखि दिउसोको ३ ः३० बजेसम्म श्रमिकलाई सिधै चर्को घाम पर्ने ठाउँमा श्रममा लगाउन नपाउने उल्लेख छ।

मन्त्रालयका अनुसार कम्पनीले जारी २०२१ को नियमावलीको १७ नम्बर बुंदाको पालना गर्नुपर्नेछ । यस्तै रोजगारदाताले श्रमिकको दैनिक कार्य घण्टा देखिने गरी बनाइएको कार्यतालिका निरीक्षणकर्ताहरु आउँदा सहजै देखिने गरी अनिवार्य राख्नुपर्ने व्यवस्था छ।

त्यस्तै, श्रमिकलाई काम गर्ने सहज वातावरण हुनुपर्ने उल्लेख छ। जसअनुसार उपयुक्त ठाउँमा श्रमिकको लागि पिउने पानी राखिएको हुनुपर्ने, आराम गर्नको लागि घाम र सूर्यको प्रकाशबाट बच्नेगरी ओत लाग्ने ठाउँको व्यवस्था हुनुपर्ने, श्रमिकलाई काम गर्ने बेलामा प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै श्रमिकले लगाउने हल्का, खुल्ला कपडा प्रदान गर्नुपर्ने समेत उल्लेख छ।

यस सन्दर्भमा प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले दिउँसोको चर्को कामबाट श्रमिकहरुलाई जोगाउने उदेश्यले लागू गरिएका सम्पूर्ण नियमहरूको पालना गर्न सबै रोजगारदाता कम्पनीहरुमा आग्रह गरेको छ।