यूएई प्रवेशका लागि तेस्रो मुलुक पुगिसकेका नेपाली १४ दिन क्वारेन्टाइन बस्नु नपर्ने

यूएई प्रवेशका लागि तेस्रो मुलुक पुगिसकेका नेपाली १४ दिन क्वारेन्टाइन बस्नु नपर्ने

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) प्रवेशका लागि नेपाललगायत ‘रेड लिस्ट’ मा परेका अन्य देशका श्रमिकले तेस्रो मुलुकमा १४ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ।

यसअघि ‘रेड लिस्ट’ मा परेका देशका श्रमिक तेस्रो मुलुकमा १४ दिन क्वारेन्टाइन बसेर यूएई प्रवेश गर्दै आइरहेका थिए।

तर, यूएई सरकारले यो नियमलाई खुकुलो बनाएपछि नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगाण्डाका श्रमिकले अब सहजै प्रवेश पाउने भएका हुन्। तर, यी देशमा प्रवेश गर्दा श्रमिकले खोपको सम्पूर्ण मात्रा लगाएको हुनुपर्ने र वैध आवासीय भिसा हुनुपर्ने छ।

यस्तै, यात्रा गर्नुपूर्व इमिरेट्सको लागि जारी गरिएको स्वीकृति अनिवार्य हुनुपर्ने बताइएको छ।

यूएईको ‘रेड लिस्ट’ मा रहेका देशका यात्रुले यस वर्षको मे महिनादेखि आर्मेनिया, उज्वेकिस्तान, सर्विया र माल्दिभ्सलाई क्वारेन्टाइनको गन्तव्य बनाउँदै आएका थिए। उनीहरूले ती देशमा १४ दिनसम्म क्वारेन्टाइन बसेपछि यूएई फर्कने गरेका थिए। कोभिड महामारीको कारणले लगाइएको प्रतिबन्धको कारण नेपालमा अड्किएका थुप्रै श्रमिकले यही माध्यम अपनाएका थिए। यसले गर्दा नेपाली श्रमिकले लाखौं क्षति बेहोर्नु परेको थियो।

गत हप्ता यूएईको नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आपतकालीन तथा विपद् व्यवस्थापन प्राधिकरणले ‘रेड लिस्ट’ को सूचीमा परेका मुलुकका यात्रीलाई अगस्ट ५ देखि इमिरेट्समा फर्कन पाउने भनी घोषणा गरेका थिए। घोषणामा यूएईमा स्वीकृत प्राप्त खोपको पूर्ण मात्रा लिएको हुनुपर्ने बताइएको थियो।

त्यस्तै स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, मानव अधिकारकर्मी जस्ता क्षेत्रमा कार्यरत प्रवासीलाई भने खोप नलगाएको भएपनि यूएई प्रवेश सहज बनाइएको थियो।

 



No ads found for this position