एनआरएनए यूएईका सदस्य कार्की भन्छन्–मानव तस्करीमा मेरो हात छैन

एनआरएनए यूएईका सदस्य कार्की भन्छन्–मानव तस्करीमा मेरो हात छैन

दुबई। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका कार्यसमिति सदस्य राज कार्कीले आफूविरूद्ध केही पदाधिकारी लक्षित उद्देश्यका साथ बदनाम गराउने अभियानमा लागेको आरोप लगाएका छन्।

प्रवास खबरले गत शनिबार ‘एनआरएनए यूएईकै पदाधिकारीको मिलेमतोमा मानव तस्करी’ शिर्षकमा समाचार प्रकासित गरेको थियो। समाचारमा १८ र १९ वर्षकी दुई युवतीलाई राज कार्कीको संलग्नतामा भिजिट भिसामा यूएई पुर्‍याएर अलपत्र पारिएको उल्लेख थियो।

समाचारमा १९ वर्षीय युवतीले आफूहरूलाई आकर्षक रोजगारी दिलाउने प्रलोभनमा यूएई एनआरएनएका सदस्य कार्कीले दुबई ल्याएर अलपत्र पारेको आरोप लगाएकी थिइन।

यो घटनामा १८ वर्षीय युवती नेपाल फर्किसकेकी छिन् भने घरको अवस्था कमजोर भएका कारण १९ वर्षीय युवती भने एनआरएनए यूएईकै सेल्टरमा बसेकी छिन्।

प्रवास खबरले यस विषयमा कार्कीसँग पनि सोधपुछ गरेको थियो। त्यतिबेला उनले आफ्नो संलग्नता नभएको, श्रीमती कार्यरत कम्पनीबाट भिजिट भिसामा आएको तर, यो विषयमा श्रीमतीलाई पनि कुनै जानकारी नभएको स्पष्ट पारेका थिए।

समाचार प्रकासितपछि कार्कीले आफ्नो कुरा थप स्पष्ट पार्दै भनेका छन्, ‘जुन नाम नखुलेको बहिनीसँग टेलिफोन सम्पर्कपछि उहाँले मेरो नाम एनआरएनए यूएईका केही पदाधिकारीहरूले जर्बजस्ती भन्न लगाइएको पाइयो।’

उनले आफ्नो कार्यकाल सकिन लागेको अवस्थामा यस्तो किसिमको लाञ्छना लगाइनु सरासर कानुन विपरित भएको बताएका छन्। उनले भनेका छन्, ‘संस्थाको मान मर्यादामा रहेर दुःखी गरीबको सेवामा सर्मपीत भएर आफ्नो कार्यकाल सकिएपछि यस्तो किसिमको लाञ्छना लगाएर समाचार सम्प्रेसित भएकोमा दुःख लागेको छ।’

उनले एनआरएनएको चुनावलाई लक्षित गरेर पनि आफूमाथि गलत आरोप लगाइएको बताएका छन्। उनले सबैलाई एकजुट भएर अगाडि बढ्न अनुरोधसमेत गरेका छन्।

उनले २०१९–२१ को बीच धेरै राम्रो काम भएको र राम्रो कामलाई उजागर गर्न अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘ एक आपसमा लडेर संस्थाको हित तथा तपाईको जिम्मेवारी पूरा नहुने मेरो अठोट छ।’