एनआरएनए केन्द्रीय सचिवमा मध्यपूर्वबाट गिरीको उम्मेदवारी

एनआरएनए केन्द्रीय सचिवमा मध्यपूर्वबाट गिरीको उम्मेदवारी

दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदमा मध्यपूर्वबाट निमेश गिरीले उम्मेदवारी दिएका छन्। गिरी हाल यूएईमा कार्यरत छन्।

सन् २००४ मा एनसीसी कतारको सदस्य बनेका गिरी  २००६ मा एनसीसी कतारको कार्यसमिती सदस्य भएका थिए। २००९ देखि यूएईलाई कार्यक्षेत्र बनाएका गिरी एनआरएनए अभियानमा सक्रिय अभियान्ता मानिन्छन्।

२०११–२०१३ कार्यकालमा उनले यूएई एनसीसी प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

मध्यपूर्वबाट गिरीले गरेको घोषणालाई एनआरएनए वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । ‘संस्थाले राम्रो गरिरहेको छ । तर, विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ,’ प्रवास खबरसँगको कुराकानीमा गिरीले भने, ‘संसारभरका नेपालीको साझा संस्था भएकोले यसलाई सबैको हकहीतको लागि मेरो पहल हुनेछ।’

साहित्य अध्ययन र लेखनमा विशेष रुची राख्ने गिरी सन् २०१३ देखि हालसम्म निरन्तर एनसीसी यूएईको विभिन्न जिम्मेवारीमा सक्रिय छन् । उनी सल्लाहकार, विधान संसोधन् समिती संयोजक, अनुशासन समिति संयोजक हुँदै अन्तर्राष्ट्रिय टास्क फोर्सहरुको सदस्य बनेका थिए । उनलाई यूएई मात्रै नभएर सिंगो मध्यपूर्वमा बौद्दिक व्यक्तित्वका रुपमा हेरिन्छ।

संघको दशौं विश्व सम्मेलन तथा नयाँ नेतृत्वका लागि निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।