एनआरएनए यूएई पदाधिकारीकै मिलेमतोमा मानव तस्करी!

एनआरएनए यूएई पदाधिकारीकै मिलेमतोमा मानव तस्करी! सांकेतीक तस्वीर

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका एक पदाधिकारीको मिलेमतोमा भिजिट भिसामा दुई युवतीलाई त्यहाँ पुर्‍याइएको रहस्य खुलेको छ।

कार्यसमिति सदस्य राज कार्कीले भिजिट भिसामा आफूहरूलाई यूएई पुर्‍याएको र आफूहरूलाई काम नदिलाई अलपत्र पारिएको एक पिडित युवतीले प्रवास खबरलाई जानकारी दिइन।

यूएई पुर्‍याईएको युवतीमा एक जना १८ वर्षीय र अर्की १९ वर्षीय युवती छिन्। उनीहरूलाई आकर्षक रोजगारी दिलाउने प्रलोभनमा यूएई पुर्याएर अलपत्र पारिएको १९ वर्षीय युवतीले बताएकी हुन्।

पिडितमध्ये १८ वर्षे युवती नेपाल फर्किसकेकी छिन्। उनलाई एनआरएनए यूएईले नै उद्धार गरेर नेपाल पठाएको हो। दोलाखा निवासी १९ वर्षीय युवती भने हाल एनआरएनएकै सेल्टरमा छिन्।

प्रवास खबरको कुराकानीमा ती युवतीले भनिन्, ‘म नेपाल फर्किएपछि यो बारेमा मिडियामार्फत सार्वजानिक गर्नेछु। अहिले म यहाँ छु, सबै कुरा सार्वजनिक गर्दा थप समस्यामा पर्न सक्छु।’

उनको पारिवारिक अवस्था त्यति राम्रो छैन। ‘मेरो बुवालाई घुँडामा समस्या छ। आमाको मानसिक अवस्था राम्रो छैन। दाईको निधन भइसकेको हुँदा सबै जिम्मेवारी मेरो काँधमा थियो। त्यसैले राम्रो जागिर पाउने आशामा यूएई आएकी हुँ,’ उनले भनिन्, ‘तर, यहाँ झन् बिचल्लीमा परे।’

उनले कामको जोहो गरिदिए यूएईमै बस्ने चाहना राखेकी छिन्। ‘नेपाल फर्किएर पनि के गर्ने? काम मिल्यो भने यही गर्ने विचार छ,’ उनले भनिन्।

आरोपी राज कार्की भने बिचल्लीमा परेका युवतीहरूलाई यूएई पुर्याउन आफ्नो कुनै संग्लनता नरहेको दावी गर्छन। प्रवास खबरसँग टेलिफोन सम्पर्कमा उनले भने, ‘मेरो कुनै संग्लनता छैन। मलाई फसाउन खोजिएको हो।’

उनी आफ्नी श्रीमती यूएईको एक म्यानपावर कम्पनीमा काम गर्ने गरेको र ती युवतीहरू आफ्नो श्रीमती कार्यरत म्यानपावर कम्पनीमार्फत आएको हुनाले आफूसँग जोडेर हेरिएको बताउँछन्। उनको भनाई छ, ‘त्यो रिक्रियुट्मेन्टमा मेरो वाइफ (श्रीमती) काम गर्छिन्। उनी कर्मचारी मात्र हुन्। त्यो कम्पनीले के–के काम गर्छ, त्यसमा उनको भूमिका हुँदैन। काम गरेको आधारमा उनलाई जोडेर फसाउन खोजिएको हो।’

उनले आफूविरुद्ध अनर्गल हल्ला फैलाइएको र त्यसबारेमा मिडियाले समाचार लेखे कानूनी उपचार खोज्नेसमेत बताए। ‘अफवाहको भरमा न्यूज आए म पनि उजुरी गर्छु,’ कार्कीले भने।

पिडित युवतीले भने कार्कीकै योजनामा आफूलाई फसाइएको दावी गरिन्। उनी भन्छिन्,‘उनीहरू मिलेर गरेका हुन्। संग्लनता छैन भनेर उम्किन खोजेका छन्। यो नाटक हो।’ उनले यूएई पुगेपछि आफ्नो राहदानी समेत खोसिएको दावी गरिन्।

प्रवास खबरलाई प्राप्त सूचनाअनुसार यो प्रकरणका कारण एनआरएनए यूएईको कार्यसमितिमा विवाद चुलिएको छ। कार्यसमितिका एक सदस्यले समितिको ग्रुपमा यो प्रकरणले सिंगो संस्थालाई बदनाम गराएको र यसको जिम्मेवारी सम्बन्धित पदाधिकारीलाई लिन आग्रह गरेका छन्।