मलेसियामा बसेर नग्न तस्बीर पठाउने युवाविरूद्ध नेपालमा उजुरी

मलेसियामा बसेर नग्न तस्बीर पठाउने युवाविरूद्ध नेपालमा उजुरी File Photo

मोरङ। मोरङ र झापाका कैंयौ महिलाले आफू साइबर हिंसाको शिकार भएको उजुरी दर्ता गरेका छन्। छथर गाउँपालिका–३, तेह्रथुम स्थायी घर भएका प्रकाश लेक्वा खजुमले उनीहरूलाई सामाजिक सञ्जालमार्फत नग्न तस्बीर पठाउने गरेको आरोप लगाएका छन्।

दमक–१ की एक महिलाले खजुमले कैयौंपटक आफूलाई साइबर हिंसा गरेको आरोप लगाएकी छन्। राष्ट्रिय समाचार समिति (रासस) ले जनाएअनुसार उनले भनेकी छिन्, ‘उसले ग्रुप मेसेन्जरबाट नग्न तस्वीरहरु पठाउँछ, हाल उ विदेशमा भएकोले उसले यस्तो दुस्साहस गरेको होला।’

त्यस्तै, मेचीनगर–२, चारआलीकि अर्की पीडित महिलाले आफूलाई उसले हप्तौं पहिलेदेखि आपत्तिजनक तस्बिर पठाएको बताइन्। उनले भनिन्,‘उसले गरेको क्रियाकलापले हामीलाई तनाव हुने गर्छ, तर उसले आफ्नो गल्ति दोहोराइरहन्छ।’

आरोपित खजुम हाल मलेसियामा श्रमिकको रुपमा काम गर्दैछन्। पीडित महिलाले उनीविरुद्ध संयुक्तरुपमा उजुरी गरेका छन्। उनीहरूले काठमाडौँस्थित साइबर अपराध अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेका हुन्।

खजुमले अन्य पुरुषलाई पनि मानसिक तनाव दिने गरेको खुल्न आएको छ। उनले मानिसका तस्बिर परिवर्तन गरिदिने, श्रद्धान्जलीसहितका तस्बिर बनाउँदै इनबक्समा पठाउने गरेको खुल्न आएको छ। नेपाल आर्मीमा कार्यरत डिएसपी इन्द्र लिम्बूलाई समेत खजुमले पटकपटक यस्ता तस्बिर पठाउने गरेको पाइएको छ। लिम्बुले भने, ‘मैले सुनेअनुसार उनी अवैध रुपमा मलेसियामा बस्दै आएका छन्। उनले यस्तो साइबर अपराधको हर्कत तत्काल बन्द गर्नुपर्छ।’

त्यसैगरी, इलामका गोर्खे राईस दमक झापाका बिशाल गुरुङ र अन्य थुप्रै युवा पनि खजुमबाट पीडित भएका छन्। उर्लाबारी मोरङका एक सञ्चारकर्मी किशोर श्रेष्ठका अनुसार खजुम विरुद्धका थुप्रै गुनासा सुनिएका छन्। खजुमले अनलाइनमार्फत अरूको बेइज्जती एवं चरित्रहत्या गर्ने उद्देश्यले प्रायः दुईवटा नाम प्रयोग गर्ने गरेको खुल्न आएको छ। श्रेष्ठका अनुसार खजुमले ‘हार्ट एभलिन खजुम’ र ‘मंगोलियन हार्ट एभलिन’ जस्ता नाम राखी यौनोत्तेजनात्मक तस्बिर पठाउने गरेको पाइएको छ। उनले भने, ‘त्यसैले नेपाल प्रहरीले यस्ता हर्कत रोक्नको लागि तुरुन्तै कडा कदम चाल्नु पर्दछ।’

नेपाल प्रहरीरीमा हप्तौंदेखि यस्ता साइबर अपराधका उजुरी पर्दै आएको बताइएको छ। आजकल बढ्दै गहिरहेको साइबर अपराध गम्भीर सुरक्षा चुनौतीका रुपमा रहेको समेत बताइएको छ।