अजरबैजान हुँदै यूएई छिर्न थाले नेपाली, यात्रा प्रतिबन्ध छिट्टै फुकुवा हुने राजदूतको विश्वास

अजरबैजान हुँदै यूएई छिर्न थाले नेपाली, यात्रा प्रतिबन्ध छिट्टै फुकुवा हुने राजदूतको विश्वास यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) ले लामो समयदेखि नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। यूएईको नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले नेपाली नागरिकमाथिको प्रतिबन्ध अनिश्चितकालको लागि लम्बाएको छ।

यसअघि उसले २१ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। तर, पछि त्यसलाई अनिश्चितकालतर्फ लगेको हो।

यूएईकोे नजरमा नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ भएको देशको सूचीमा यथावत छ। यसै कारण अहिले नेपालबाट रित्तै जहाज यूएई उड्ने गरेका छन्। ती जहाजले यूएईबाट मात्र नेपाली बोकेर लैजान्छन्।

यूएईले आफ्नो नागरिकलाई पनि नेपालमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

यूएईले प्रवेश प्रतिबन्ध लामो समयसम्म नहटाउँदा रोजगारीको लागि यूएई उड्ने पर्खाइमा रहेका हजारौँ नेपाली अन्यौलमा छन्।

कोभिडको दोस्रो लहरअघि घरविदामा गएका श्रमिक नेपालमै अड्किएका छन्।

प्रतिबन्ध लम्बिदै गएपछि केही नेपाली अहिले तेस्रो मुलुकलाई ट्रान्जिट बनाइ यूएई फर्किन थालेका छन्। त्यसो त तेस्रो मुलुक हुँदै युएई आउन पनि सहज छैन। यूएइले भारत लगायत अन्य छिमेकी मुलुकमाथि समेत प्रतिबन्ध लगाएको छ।

उसले ‘ग्रीन लिष्ट’ मा राखेका देशमा १४ दिनसम्म होटल क्वारेन्टाइन बसेकालाई प्रवेश दिने बताएको छ। अन्य विकल्प नभएपछि यूएई फर्किन बाध्य नेपालीहरूले अजरबैजानलाई १४ दिनको ट्रान्जिट बनाएर फर्किन थालेका छन्। अजरबैजान यूएईको ‘ग्रीन लिष्ट’ मा समावेश छ। अजरबैजान पुगेका नेपालीहरू १४ दिनसम्म होटल क्वारेन्टाइन बसेर यूएई फर्किन थालेका छन्।

यसैमध्येका एक हुन्, झापाका जीत बहादुर श्रेष्ठ। उनी करिब ३ महिना पहिला नेपाल गएका थिए। यूएईको अलशाया कम्पनीमा कार्यरत श्रेष्ठ अत्यावश्यक काम परेपछि परिवारलाई यूएईमै छोडेर नेपाल गएका थिए। तर, उडान रोकिएपछि उनी यूएई फर्किन पाएनन्।

परिवार छोडेर गएका उनी समयमै फर्किन नपाएपछि तनावमा परे। उता कम्पनीले पनि छिटो फर्किन दवाव दिइरह्यो। उनी उडान खुल्ने प्रतिक्षामा बसे। तर, यूएईले नेपालीलाई प्रवेश अनुमति दिएन।

उनले बाध्य भएर अजरबैजान हुँदै यूएई फर्किने निर्णय लिए। उनी कतार हुँदै अजरबैजान पुगेर त्यहाँ १४ दिन होटल क्वारेन्टाइनमा बसेर यूएईको यात्रा तय गर्दैछन्।

‘साह्रै गाह्रो बनायो। अन्तिममा एउटा ट्राभलबाट अजरबैजानको विकल्प पाएँ। पर्सीको उडान छ,’ उनले प्रवास खबरसँग भने।

अहिले काठमाडौंमा रहेका केही ट्राभल कम्पनीले अजरबैजानलाई ट्रान्जिट बनाउँदै नेपाली पठाउन थालेका छन्। यसका लागि ट्राभल कम्पनीले साढे २ लाखदेखि ४ लाखसम्म लिने गरेको यात्रामा संलग्न नेपालीहरूले बताएका छन्।
काठमाडाै‌ होलिडे ट्राभलका एक कर्मचारी भन्छन्, ‘यसमा प्रक्रिया लामो छ। रेट फिक्स नै हुँदैन। होटल र अन्य खर्च स्थिर हुने भएपनि प्रमुख कुरा उडानको हो। टिकट बुक गर्ने बेला मुल्य कति हुन्छ त्यसैमा भर पर्छ।’

श्रेष्ठ मात्र होइन अन्य नेपाली युवाहरू पनि यही प्रक्रिया अपनाउँदै महंगो शुल्क तिरेर यूएई फर्किन चाहिरहेका छन्।

नेपालमा अड्किएका धेरै नेपाली भने सरकारसमक्ष प्रतिबन्ध फुकुवाका लागि पहल गर्न आग्रह गर्दछन्। हाल नेपालमा कोरोनाको अवस्था समान्यतर्फ अग्रसर भइरहेको भन्दै उनीहरू प्रतिबन्ध फुकुवा गर्न सरकारले पहल गर्नुपर्ने तर्क राख्छन्।

यूएई फर्किन नपाएर अड्किएका एक युवा विष्णु पाण्डे भन्छन्, ‘आवश्यक मापदण्डअनुसार खोप लगाएका नागरिकलाई सहजै जाने प्रक्रिया मिलाउनु प¥यो। विदामा आएर बस्न लागेको धेरै भो। दूतावासले सम्बन्धित निकायमा छलफलगरि रोजगारीमा फर्किने प्रबन्ध मिलाउनु पर्छ।’

के भन्छ् यूएईस्थित नेपाली दूतावास ?

आबुधाबीस्थित नेपाली दूतावासले भने प्रतिबन्ध फुकुवा गर्न यूएईको सम्बन्धित निकायसँग पहल भइरहेको बताएको छ।

यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले प्रवास खबरसँग भने,‘हामीले नेपालको पछिल्लो अवस्था सामान्य रहेको जानकारी गराउँदै नेपालीलाई प्रवेश अनुमति दिन अनुरोध गरेका थियौं। उताबाट आधिकारिक जानकारी आएको छैन।’

दूतावासले अनुरोध गर्दा यूएईका अधिकारीले आफूहरूले नेपालको अवस्था नियालिरहेको र सोही अनुरुप निर्णय लिने बताएको राजदूत ढकालले जानकारी दिए। ‘अवस्था हेरेर निर्णय हुने उहाँहरूको भनाइ थियो,’ राजदूत ढकालले बताए।

राजदूत ढकाल यूएईले केही दिनमा नेपालीलाई प्रवेश प्रतिबन्ध फुकुवा गर्नेमा विश्वास व्यक्त गर्दछन्। भन्छन्, ‘नेपाल मात्र नभएर अन्य देश पनि यूएईको ‘रेड लिष्ट’ मा छन्। नेपालमा अवस्था सामान्य हुँदै गएकोले प्रवेश प्र्रतिबन्ध छिट्टै फुकुवा हुन्छ भन्ने विश्वास छ।’

उनले नेपालबाट यूएई आउने पर्खाइमा बसेकालाई खोप लगाएर क्यूआर कोर्डसहितको खोप प्रमाणपत्र समेत बनाउन अनुरोध गरेका छन्।