मलेसियामा कार चोरीको आरोपमा नेपाली युवा पक्राउ

मलेसियामा कार चोरीको आरोपमा नेपाली युवा पक्राउ

सेरडाङ। कार चोरीको आरोपमा एक नेपाली युवालाई मलेसियाली प्रहरीले पक्राउ गरेको छ। मलेसियाको सेरडाङ शहरस्थित एक कम्पनीमा सुरक्षाकर्मीको रुपमा कार्यरत ती नेपाली कार चोरी गर्ने थप ५ जनाको गिरोहसँग संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।

स्थानीय प्रहरीले बताएअनुसार राजधानी क्वालालम्पुरस्थित गुप्तचर विभागका प्रहरीले २५ जुलाइ करिब २ बजे राती एक मर्सिडिज एस ३२० र टोयोटा ईस्टिमा सहित ३ जनालाई गिरफ्तार गरेको थियो। पक्राउ परेको ३ जनासँग सोधपुछ गरेपछि प्रहरीले चोरीमा संलग्न थप तीन जनालाई पक्राउ गरेको हो। जसमा एक नेपाली पनि पक्राउ परेका हुन्। प्रहरीले उनीहरूबाट थुप्रै मोबाइल सेट, एउटा साँचो बनाउने मेसिन, ६ वटा गाडी, जसमा भोल्सवेगन पासान्ट, ओडी–क्यु७ र टोयोटा फर्चुनर जस्ता महंगा गाडी बरामद गरेको थियो।

अनुसन्धानका क्रममा गिरोहले पार्किङस्थलमा लामो समयसम्म राखिएका सवारीसाधान चोरी गर्ने गरेको पाइएको बताइएको छ। उनीहरूले त्यसरी सवारीसाधन चोरी गर्ने क्रममा ती सवारीसाधन प्रवासीको भएको र लामो समयसम्म त्यहाँ नफर्कने विश्वासका साथ चोरी गर्ने गरेको खुलेको छ।

गिरफ्तार नेपालीले पार्किङ्ग स्थलमा लामो समयसम्म छाडिएका सवारीसाधनको बारेमा गिरोहलाई जानकारी दिने गरेको खुल्न आएको छ। त्यस्तै, गिरफ्तार गरिएका अर्का व्यक्ति साँचो पसलको मालिक भएको र डुप्लिकेट बनाउन उस्ताद रहेको बताइन्छ।

प्रहरीले यो गिरोह हालसम्म ७ वटा चोरीको घटनामा संलग्न भएको दावी गरेको छ।