८५ देशमा पुग्यो एनआरएनएको सञ्जाल, अमेरिकाज् क्षेत्रमा थपिए २ एनसीसी

८५ देशमा पुग्यो एनआरएनएको सञ्जाल, अमेरिकाज् क्षेत्रमा थपिए २ एनसीसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जाल विश्वका विभिन्न ८५ देशमा विस्तारित भएको छ । हालै अमेरिकाज् क्षेत्रका थप दुई देशमा एनआरएनएको शाखा गठन भएका हुन्।

संघका अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार कोष्टारिका र मेक्सिकोमा एनआरएनएको नयाँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन भएका हुन्।

‘विभिन्न देशमा शाखा विस्तार गर्ने संघको केन्द्रीय नीतिअनुरुप कोष्टारिका र मेक्सिकोमा नयाँ एनसीसी गठन भएका छन् । चिलीमा पनि नयाँ समिति निर्माण हुन् लागेको छ,’ संयोजक त्रिपाठीले प्रवास खबरसँग भने । चिलीमा समिति निर्माण भएसँगै अमेरिकाज् क्षेत्रमा संघका ५ एनसीसी हुनेछन् । यसअघि अमेरिका र क्यानाडामा मात्रै संघ सक्रिय थियो।

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पु¥याउने सोचले आजभन्दा १८ वर्ष पहिले एनआरएनएको स्थानपना भएको थियो।
‘यी देशहरुमा एनआरएनएको शाखा गठन हुनुपर्दछ भनेर पहिलादेखि नै कुरा उठेको थियो । यसका लागि विभिन्न चरणमा छलफल समेत भएका थिए,’ संयोजक त्रिपाठी भन्छन्, ‘अहिले हामी सफल भएका छौं । यसको गृहकार्यमा म आफै खटेको थिएँ।’

आइसीसी निर्वाचनको मुखैमा धमाधम नयाँ एनसीसी विस्तार हुनुलाई कतिपयले चुनावी स्वार्थका रुपमा समेत हेरेको बताइन्छ। तर, संयोजक त्रिपाठी यो टिप्पणीसँग सहमत छैनन् । उनले प्रक्रिया पुर्याएर शाखा विस्तार गरिएको बताए ।

उनी भन्छन्, ‘शाखा विस्तारको लागि आइसीसीको समन्वयमा हामीले पहिलादेखि नै गृहकार्य सुरु गरेका थियौँ। विधान अनुसार जुलाइमा नयाँ समिति निर्माण गर्नुपर्ने भएकोले अहिले समिति गठन भएको हो । विधि र प्रक्रिया अनुरुप काम भएको छ, यसमा शंका गर्नुपर्ने ठाउँ छैन ।’

उनले नयाँ देशहरुमा संघको सञ्जाल विस्तार हुनु गौरवको विषय भएको बताए।

कोष्टारिका एनसीसीको पहिलो नेतृत्व डा. चापागाईंको कांधमा

नवगठति कोष्टारिका एनसीसीको पहिलो नेतृत्वको जिम्मेवारी डा. खगेन्द्रराज चापागाईंले पाएका छन्।

संयोजक त्रिपाठीका अनुसार भुर्चुअल माध्यमबाट आयोजित भेलाले डा. चापागाईंको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो।

यस्तै उपाध्यक्षमा डा.बज्रमान सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं र कोषाध्यक्षमा समान्ता मोक्तान लामा चयन भएका छन्।

यसैगरी निर्वाचित सदस्यहरुमा भुवन चापागाईं, डा. किलर्नी चापागाईं, राजेश चापागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल रहेका छन् । भेलाले आइसीसी सदस्यको जिम्मेवारी संजीव लामालाई दिएको छ।

मेक्सिको अध्यक्षमा कार्की

नवगठित मेक्सिको एनसीसीमा कृष्ण बहादुर कार्की अध्यक्षमा चयन भएका छन् । कार्कीको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति गठन गरिएको संयोजक त्रिपाठीले बताए ।

समितिको उपाध्यक्षमा निर्मल सशी महर्जन, महासचिवमा पुर्ण लामा र कोषाध्यक्षमा नारायण प्रसाद बस्याल चयन छन् ।

यसैगरी सदस्यहरुमा दीपा लामा, कल्पना तिवारी, फेड्रिक रनेश कार्की, बिनी श्रेष्ठ, मणी कुमार गौतम र रश्मी प्रभा बानिया चुनिएका छन्।

आइसीसी सदस्यको जिम्मेवारी विनोद कुमार मुडबरीले पाएका छन्।