एनआरएनए यूके अध्यक्षका प्रत्यासी को कति ‘पपुलर’?

एनआरएनए यूके अध्यक्षका प्रत्यासी को कति ‘पपुलर’?

लण्डन । एनआरएनए यूकेको नयां कार्यसमिति चयनका लागि आउंदो ३१ जुलाइमा निर्वाचन हुँदैछ । भावी अध्यक्षका लागि प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा उत्रिएका छन् । उनीहरुले औपचारिक उम्मेदवारी दर्ता पनि गरिसकेका छन् ।

निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका तीन प्रत्यासीमध्ये को सक्षम र लोकप्रिय भन्नेबारे विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ।

अध्यक्षका आकांक्षीमध्ये प्रेम गाहामगरको टिममा नामै नसुनिएका उम्मेदवारको भीड बढी छ । कांग्रेसीहरु बटुलेर बनाइएको झुण्डहरुको बोलबाला देखिन्छ गाहा टिममा ।

त्यसमाथि यो कार्यकालभरि विद्रोह गरेका उपाध्यक्षहरुले गाहाकै टीमबाट उम्मेदवारी दिएका छन्। निर्वाचन समितिदेखि कार्यसमितिलाई सधैं विवादमा तानेर क्षणिक चर्चा बटुल्ने उक्त विद्रोही समूहबाट मतदाता ‘फेडअप’
भएकाले पनि अन्य विकल्पको खोजीमा देखिन्छन् उनीहरु।

गाहाले आफूले धेरै सदस्य बनाएको दावी गरेपनि बेलायतको नेपाली समुदायमा को उम्मेदवार सक्षम, सालिन, भिजनरी र नेतृत्वका लागि लायक छ भन्नेमा जानकार रहेको बताइन्छ।

बेलायती डायष्पोराको बुझाइ छ, ‘अध्यक्षको उम्मेदवारमध्ये प्रेम गाहा मगर सिधा बोल्छन् तर सुझबुझपूर्ण छैन् उनको बोलीमा ।’ ‘असभ्य’ भाषा बोलेर उनी विवादमा तानिइरहन्छन् । दुई वर्षे कार्यकाल उपाध्यक्ष रहंदा उनी आर्थिक मुद्दाको नाममा सधैं विवादमा रहिरहे । अरुको प्रभावमा सजिलै पर्न सक्ने स्वभावका कारण उनी आर्थिक मुद्दा पारदर्शी नभएको भन्दै अड्डा अदालतसम्म पुगेर आफैंले नेतृत्व गर्न चाहेको संस्थाको साख झन् गिराए ।

समझदारी र संयमता भन्ने शब्द उनको डिक्सनेरीमा नभएको तर्क गर्नेहरु पनि कयौं छन् । तर, प्रेम गाहा माथिका कुरा स्वीकार्न तयार छैनन् अनि आफ्नो सदस्य संख्या सबैभन्दा बढी भएकाले जितिने उनको दावी छ ।

उता, अध्यक्षका अर्का आकांक्षी एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठको बोलीमा परिपक्वता नभएको नेपाली समुदायको बुझाइ छ । इष्यू बुझ्नुको सट्टा आवेशमा आइहाल्ने उनको स्वभाव छ । लण्डन साउथ इष्टका केही नेपाली अभियन्ताको जोडबलमा उम्मेदवारी दिएका उनी सुरु देखि नै कमजोर देखिएका थिए । आफ्नो तर्फबाट ४ हजार तीनसय बढी सदस्य संख्या रहेको जिकिर गरेपनि सदस्यता संख्याका हिसावले उनी अन्य प्रतिष्पर्धीमाझ कमजोर देखिएका छन् ।

एनआरएनए यूके उपाध्यक्ष एवं आगामी नेतृत्वका लागि अध्यक्ष पदकी आकांक्षी रोजिनाप्रधान राई उम्मेदवारमध्ये सबैभन्दा ‘पपुलर’ मानिएकी छिन् । डे वानदेखि सदस्यता विस्तारमा क्रियाशिल देखिएकी उनले आफ्नो तर्फबाट ५ हजार बढी सदस्य बनाएको बताएकी छन्।

सालिन पर्सनालिटी, बोलीमा मिठासपन, संघप्रति सम्मान र लगाव एवं आफ्नो कार्यकालभरि निरन्तर सक्रिय रहेका कारण जनमत उनको पक्षमा बढी देखिएको आकलन गरिएको छ । उनले अरुलाई गाली गलौज गरेर आफू राम्रो उम्मेदवार भन्ने मान्यतामा कहिल्यै विश्वास गरिनन्।

बरु मतदाता आकर्षित गर्न निरन्तर सम्पर्क र भेटघाट आफ्नो प्राथमिकतामा राखेकी रोजिनाले व्यक्तिभन्दा संस्था सधैं अगाडि रहन्छ भनेर संघप्रति गौरव र सम्मान देखाइरहिन् । सदस्य संख्या जसले जति भनेर दावी गरेपनि रोजिना बेलायतको नेपाली समुदायमा भने अरुभन्दा बढी ‘पपुलर’ देखिएको विश्लेषण गरिएको छ।