दुई हप्तामै कतारको यात्रा नीति परिवर्तन, खोप लगाएकालाई पनि होटल क्वारेन्टाइन अनिवार्य

दुई हप्तामै कतारको यात्रा नीति परिवर्तन, खोप लगाएकालाई पनि होटल क्वारेन्टाइन अनिवार्य फाइल फोटो

दोहा । कतारले यात्रा नीति परिवर्तन गरेको छ। नयाँ नीति अनुसार अब कोभिडविरुद्धको खोप लगाएका नेपालीलगायत विदेशी नागरिकले कतार प्रवेश गरेपछि क्वारेन्टाइन बस्नुपर्ने भएको छ।

यो नियम २ अगष्टदेखि लागू हुनेछ।

नयाँ नीति अनुसार कतारमा खोपको दुवै मात्रा लगाएका वा कतारमा कोभिड संक्रमण भइ निको भएका यात्रुले कतार प्रवेश गरेपछि २ दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनको परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्यमा जान पाइनेछ।

यस्तै कतारबाहिर जुनसुकै खोप लगाएका वा नलगाएका सबै १० दिनसम्म होटल क्वारेन्टाइन बस्नु पर्नेछ । उनीहरुले कतारको आवासीय अनुमति प्राप्त गरेको हुनुपर्नेछ।

यस्तै कतारले खोप नलगाएका पारिवारिक, पर्यटक वा व्यापारी भिसा अन्तर्गतका यात्रुहरुलाई आफ्नो देशमा प्रवेश नदिने बताएको छ।

यसअघि कतारले नयाँ यात्रा नीति जारी गर्दै १२ जुलाइबाट मान्यता प्राप्त खोप लगाएका विदेशी नागरिक क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको थियो । तर, पछिल्लो समय संक्रमित बढ्न थालेपछि कतारले दुई हप्तामै निर्णय बदल्न बाध्य भएको हो ।