कतारमा संक्रिमत फेरि बढ्न थाले, प्रतिबन्ध यथावत रहने

कतारमा संक्रिमत फेरि बढ्न थाले, प्रतिबन्ध यथावत रहने

दोहा । कतारले कोभिडको कारणले लगाएको प्रतिबन्धलाई यथावत राख्ने भएको छ। पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढ्दै गएपछि विद्यमान मापदण्डलाई यथावत राख्ने कतारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो।

मन्त्रिपरिषदको २८ जुलाइमा बसेको बैठकले सो निर्णयलाई अनुमोदन गरेको हो।

कोभिड महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न कतार सरकारले पहिलेदेखि नै स्वास्थ्य मापदण्डका साथै प्रतिबन्धित व्यवस्था लागू गरेको थियो।

विस्तारै संक्रमण नियन्त्रणतर्फ आउन थालेपछि चार चरणमा प्रतिबन्ध खुकुलो बनाउन लागिएको थियो। सोही निर्णय अनुसार अहिले कतारमा तेस्रो चरणको प्रतिबन्ध जारी छ।

जसअन्तर्गत पहिलो चरणमा २८ मेदेखि प्रतिबन्ध केही खुकुलो बनाइएको थियो । त्यस्तै ९ जुलाइदेखि सुरु भएको तेस्रो चरणको फुकुवामा थुप्रै क्षेत्रहरुमा सञ्चालन गर्न पाउने क्षमतामा वृद्धि गरिएको थियो। यसैगरी थिएटर र सौक (प्रसिद्ध बजार) जस्ता ठाउँहरुमा बालबालिकाहरुलाई पनि अनुमति दिइएको थियो। त्यसपछि पूर्णरुपमा खोप प्राप्त गरेका यात्रीहरुलाई क्वारेन्टाइनमा बस्नु नपर्ने भन्दै कतार प्रवेश गर्न दिइने भनिएको थियो।

३० जुलाइदेखी चौथो चरणको प्रतिबन्ध पनि हटाउने कतारको तयारी थियो । चौथो चरणमा प्रतिबन्ध फुकुवा गरीएसँगै कतार सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको थियो । तर, कोभिड–१९ का संक्रमित फेरि बढ्न थालेपछि यस्तो सजगता अपनाउन थालिएको बताइएको छ।

२८ जुलाइमा मात्रै कतारमा २ सय नयाँ कोभिड–१९ का संक्रमित फेला परेको बताइएको छ। धेरै हप्तापछि मात्र यस्तो तथ्यांक देखिएको बताइएको छ। संक्रमितको संख्या बढ्दै गएमा प्रतिबन्धमा थप कडाइ गरिने बताइएको छ । यस्तै प्रतिबन्धका चरणलाई अझ लम्ब्याउन सकिने पनि बताइएको छ।

मन्त्रीपरिषदको बैठक प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शिख खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल–थानीको अध्यक्षतामा बसेको थियो।