सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा समाप्त

सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा समाप्त

काठमाडौं । नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो।

नेपालबाट १० मिटर शूटिङ्गमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुषतर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गरेकी थिइन। आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती पूछारबाट दोस्रो भईन । स्पर्धामा नौ जना खेलाडी सहभागि थिए ।

सरस्वतीले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सकिनन । उनले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गरिन । पूछारमा परेकी साउदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाइन । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पुरा गरेकी थिइन । दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पूरा गरेकी थिइन्।

दोस्रो हिटमा इरानकी फर्जानेह फैसिहीले ११.७६ सेकेण्डमा दूरी पार गर्दै पहिलो स्थानमा रहिन। मलेसियाकी नबिला एलियास दोस्रो स्थानमा रहिन। उनले व्यक्तिगत प्रदर्शनमा सुधार गर्नुका साथै पहिलो राउण्डका लागि छनोट भइन्। कुवेतकी अलशम्मारी तेस्रो भइ पहिलो राउण्डमा छनोट भइन्।

सरस्वती यूनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि भएकी थिइन । प्रारम्भिक चरणमा तीन हिटमध्ये सरस्वती चौधरी दोस्रो हिटमा थिइन्। हरेक हिटका शीर्ष तीन र एक उत्कृष्ट समय निकाल्ने खेलाडी प्रथम राउन्डका लागि छनोट भएका छन्।