भिसा प्राप्त २ लाख ८० हजार आप्रवासी श्रमिक कुवेतबाहिर अड्किए

भिसा प्राप्त २ लाख ८० हजार आप्रवासी श्रमिक कुवेतबाहिर अड्किए

कुवेत सिटी । भिसा प्राप्त गरेका करिव २ लाख ८० हजार आप्रवासी कुवेतबाहिर अड्किएको बताइएको छ। यसरी अड्किएकामध्ये अधिकांश एसियन र अरबी मुलका भएको बताइएको छ।

स्पोन्सरले रोजगारदाताको आवासलाई नविकरण नगर्दा गत वर्षको सुरुवातदेखि २ लाख ५० हजार प्रवासीको आवसीय अनुमति (रेसिडेन्स परमिट) को म्याद सकिएको बताइएको छ। यसको अतिरिक्त कोभिड महामारीको कारणले लगाइएका मापदण्डको कारणले हजारौं श्रमिक कुवेतबाहिर रहेको बुझिएको छ।

स्थानीय मिडियाका अनुसार १ अगस्टदेखि विमानस्थल सुचारु गरिने भनिएपनि कोभिडविरुद्धको खोपलगायत कडा स्वास्थ्य मापदण्डको कारणले थुप्रै आप्रवासी तत्कालै कुवेत फर्कन नपाउने सम्भवना छ। धेरैजसो आप्रवासीले कुवेतले स्वीकृति प्रदान गरेको खोप प्राप्त गरेका छैनन् । त्यस्तै केही देशहरुले खोपको प्रमाणपत्रको प्रमाणिकता सुनिश्चित गर्न कुवेतले भने अनुसार इन्टरनेटको माध्यमद्वारा प्रमाणीकरण विधि (बारकोड सिष्टम) अपनाएका छैनन्।

त्यसैगरी, पर्यटक, पारिवारिक र व्यावसायिक भ्रमण भिसालगायतका भिसा अझै प्रतिबन्धित भएको बुझिएको छ। ती भिसाको लागि ‘कोरोना आपतकालीन कमिटी’बाट स्वीकृति प्राप्त गर्नुपर्ने बताइएको छ।

कुवेतमा हाल घरेलु श्रमिकको लागि मात्रै भिसा जारी गरिएको बताइएको छ।