साउदीले ‘उच्च जोखिम’ रहेका मुलकमा जाने नागरिकलाई ३ वर्ष यात्रा प्रतिबन्ध लगाउने

साउदीले ‘उच्च जोखिम’ रहेका मुलकमा जाने नागरिकलाई ३ वर्ष यात्रा प्रतिबन्ध लगाउने File Photo

रियाद । साउदी अरबले कोभिड महामारीको आधारमा ‘रेड लिस्ट’मा सूचीकृत भएका मुलुकमा यात्रा गर्ने आफ्ना नागरिकलाई तीन वर्षसम्म वैदेशिक यात्रा गर्न नपाउने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

साउदी अरबको आन्तरिक मन्त्रालयले महामारीको बेलामा सरकारले ‘रेड लिष्ट’ भनि तोकेका मुलुकमा यात्रा गर्नु कानूनको उल्लंघन भएको ठहर्ने बताएको छ।

साउदी नागरिकले स्वास्थ्यसम्बन्धी मापदण्डको उल्लंघन गर्दै प्रतिबन्धित देशमा यात्रा गरेको प्रशस्त सूचना पाइएपछि सरकारले कडा निर्णय लिएको बताइएको छ।

त्यसरी नियम उल्लंघन गर्ने नागरिकलाई देश फर्किएलगत्तै कानूनअनुसार कडा कारवाही गर्नुका साथै जरिवाना समेत तिराइने बताइएको छ। त्यस्तै, त्यस्ता व्यक्तिलाई तीन वर्षसम्मका लागि देश बाहिर यात्रा गर्न अनुमति नदिइने बताइएको छ।

आन्तरिक मन्त्रालयले बताएअनुसार त्यसरी ‘रेड लिस्ट’मा राखिएका देशहरुमा सिधै वा ‘ट्रान्जिट पोइन्ट’ बनाएर पनि यात्रा गर्न पाइने छैन। त्यस्तै, कोभिडको नयाँ उत्परिवर्तन स्वरुप देखापरेका देशहरुमा समेत यात्रा गर्न प्रतिबन्ध लगाइएको बताइएको छ।