नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट फेला, सतर्क रहन मन्त्रालयको आग्रह

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट फेला, सतर्क रहन मन्त्रालयको आग्रह

काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो। अल्फा र डेल्टा भेरियन्टपछि कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका तीनवटा केस नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन्।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले जनाएको छ।

भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न पनि आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको रुपमा अल्फा र डेल्टालाई राखेको छ भने भेरिएन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पालाई राखेको छ । भेरिएन्ट अफ कन्सर्नलाई संक्रामक भाइरस मानिन्छ ।