एनआरएनए हङकङद्वारा कास्कीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनआरएनए हङकङद्वारा कास्कीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ। एनआरएनएले महामारीका रूपमा फैलिएएको कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका कन्सन्ट्रेटर स्वास्थ्यचौकीलाई सहयोग गरेको हो।

एनआरएनए हङकङका निवर्तमान अध्यक्ष राधिका गुरुङ (टीका) को विशेष पहलमा माछापुच्छ्रे गाउँपालिकाका लागि प्राप्त अक्सिजन कन्सन्ट्रटेर सोमबार सार्दिखोला स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरिएको हो। स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरेर कोरोनाका बिरामीको प्राथमिक उपचार हुँदै आएको छ।

स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले आइसोलेशनमा भर्ना भएका ३० मध्ये छ जनालाई पोखरा सिफारिस गरिएको र बाँकी निको भएर घर फर्किएको बताए। उनका अनुसार आइसोलेशनमा दुई सङ्क्रमित महिलाको सुरक्षित प्रसूति गराइएको थियो। सो वडामा हालसम्म २०२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइन्छ।

 

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै समाजसेवी नन्दकुमारी गुरुङले कोरोनाको अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट केही सहयोग पुगोस् भनेर एनआरएनएका निवर्तमान अध्यक्ष गुरुङले आफ्नो जन्म ठाउँका लागि सो सहयोग सामग्री पठाएको जानकारी दिए। एनआरएनए हङकङले यसअघि सेती बाढीलगायतका विपत्तिमा समेत सक्दो सहयोग गर्दै आएको उनले बताए।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले मानवको विकासक्रम र अस्तित्वमाथि चुनौती बनेर आएको कोरोना भाइरससँग जुध्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। एनआरएनए हङकङ र यसका निवर्तमान अध्यक्ष गुरुङको पहलमा आफ्नो गाउँपालिकालाई प्राप्त अक्सिजन कन्सनट्रेरबाट बिरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष गुरुङको भनाइ थियो।

एनआएरएनले केही दिनअघि देशका सातै प्रदेशमा गरी ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएकामा गण्डकी प्रदेशमा १५ थान रहेको छ। गण्डकी प्रदेशमा सार्दिखोला स्वास्थ्यचौकीसहित तनहुँको भीमाद प्राथमिक स्वास्थ्य केन्द्र तथा कोभिड आइसोलेशन केन्द्रलाई दुई थान र म्याग्दीको बेनी जिल्ला अस्पतालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरिएको छ।

सालिजा स्वास्थ्यचौकी पर्वतलाई एक थान, बुर्तिबाङ स्वास्थ्यचौकीलाई दुई थान, लमजुङ जिल्ला अस्पतालाई दुई थान र लमजुङकै उत्तरकन्या स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर एनआरएनएबाट सहयोगस्वरुप प्राप्त भएको प्रदेश खेलकुद परिषद्का सदस्य शुभकन्या गुरुङले जानकारी दिए।रासस