नाकाबन्दीको पाठले कतारलाई दिएको सफलता : मध्यपूर्वकै व्यस्त विमानस्थल बन्यो ‘एचआइए’

नाकाबन्दीको पाठले कतारलाई दिएको सफलता : मध्यपूर्वकै व्यस्त विमानस्थल बन्यो ‘एचआइए’

दोहा । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल मध्यपूर्वकै अति व्यस्त विमानस्थलमा सूचीकृत भएको छ। ‘ट्राभल एनालिटिक्स’ संस्था ‘फर्वाडकिज’ले २०२१ को सुरुका ६ महिनामा दोहाले मध्यपूर्वको प्रख्यात ‘ट्राभल हव’को रूपमा स्थापित हुन सफल भएको खुलासा गरेको छ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा ब्यस्त विमानस्थलको रुपमा स्थापित भएसँगै दोहाले दुबईलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।

‘फर्वाडकिज’ले गरेको पछिल्लो अध्ययनअनुसार १ जनवरीदेखि ३० जुनसम्मका हवाई टिकटको आधारमा हेर्दा दोहाबाट जारी गरिएका यात्रा टिकट दुबईबाट जारी गरिएका टिकट भन्दा १८ प्रतिशतले बढी भएको पाइएको हो। दोहाले यो रेकर्ड हालसम्म पनि कायम राखेको ‘फर्वाडकिज’ले बताएको छ।

१ जुलाइपछि पनि दोहाद्वारा जारी गरिएका यात्रा टिकट दुबईकोभन्दा १७ प्रतिशतले बढी रहेको बताइएको छ।

२०१७ को जुन महिनामा बहराइन, इजिप्ट, साउदी अरब र यूएईले लगाएको नाकाबन्दी जनवरीमा खुल्ला गरिएकोले यस्तो हुन गएको बताइएको छ।

तत्कालीन समयमा कतारमाथि लगाइएको सो नाकाबन्दीको कारण दोहादेखि अन्यत्र उडान हुने तथा अन्यत्रबाट दोहा आउने उडानमाथि नकारात्मक प्रभाव परेको थियो। त्योबेला कतार एयरवेजले आफ्नो नेटवर्कबाट १८ वटा गन्तव्य हटाउन बाध्य भएको थियो। त्यस्तै, प्रतिबन्ध लगाइएका देशहरूको ‘एयरस्पेस’लाई छल्नको लागि दोहाबाट उड्ने उडानहरुले चक्कर लगाउनुपर्ने थियो, जसले गर्दा ती उडानहरूले अतिरिक्त समय खर्चिनुपर्ने वाध्यता हुन्थ्यो।

नाकाबन्दी भएपछि आफ्नो अडानलाई कतार एयरवेजले कटौती गरेन, बरु २४ वटा नयाँ मार्ग (रुट) खोल्यो।

जनवरीदेखि यता कायरो, दम्मान , दुबई, जेद्दाह र रियादको लागि र त्यहाँबाट दोहाको लागि उडानहरु भर्ने क्रम शुरु भयो। त्यस्तै, २०२० को डिसेम्बरमा सिएटलसँग, जनवरीमा सान फ्रान्सिस्कोसँग, र जुनमा अविड्जनसँग नयाँ सम्पर्क स्थापना गर्यो। ‘फर्वाडकिज’का उपाध्यक्ष ओलिभियर पोन्टीले फर्वाडकिज इन्साइट्सको तथ्यांक सार्वजनिक गर्दै नाकाबन्दीले दोहालाई सफलताको शिखरमा पुग्न मद्दत पुर्याएको बताए

‘नाकाबन्दीले नै दोहालाई नयाँनयाँ रुटहरु सञ्चालनमा ल्याउन हौसला प्रदान गर्यो, जसले गर्दा आज दोहाले दुबईलाई उछिन्न सफल भयो,’ पोन्टीले भनेका छन्, ‘यस हिसाबले के देखिन्छ भने छिमेकी देशहरूको प्रतिकूल व्यवहारले दोहालाई सापेक्षिक सफलता मिल्दै गयो।’

कोभिड–१९ को संकटले उचाइ प्राप्त गर्दै गरेको बेलामा पनि दोहाभित्र र बाहिरका धेरै मार्ग सञ्चालनमा रहनुले दोहा स्वदेश फिर्ताको लागि प्रमुख केन्द्र बन्न पुगेको बताइएको छ ।

यसैसन्दर्भमा हमाद अन्तर्राष्ट्रिय विमानस्थलका चिफ अपरेटिङ अफिसर बद्री अल– मीरले हमाद अन्तर्राष्ट्रिय विमानस्थल मध्यपूर्वमै उत्तम एयरर्पोटका साथै विश्वभरका यात्रुको लागि लोकप्रिय गन्तव्य र हव बनेको सुन्दा खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘कोभिड १९ महामारीको बाबजुत पनि कोभिडसम्बन्धी मापदण्ड र प्रोटोकलको पालना गर्दै कर्मचारी तथा यात्रीहरुलाई सुरक्षित राखेर कडा परिश्रम सहित परिचालित गर्नुको परिणामस्वरुप आज हामी यो सफलताको विन्दुमा पुगेका हौं।’

एजेन्सी