बेल्जियम निर्वाचन आक्रमण : हार्ने भएपछि अध्यक्षका प्रत्यासीले नै विदेशी गुण्डा प्रयोग गरे !

बेल्जियम निर्वाचन आक्रमण : हार्ने भएपछि अध्यक्षका प्रत्यासीले नै विदेशी गुण्डा प्रयोग गरे !

बेल्जियम। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) बेल्जियमको निर्वाचनमा झडप भएको छ। उक्त झडपमा परी तीन जना घाइते भएका छन्। आइतबार आन्त्र्वोपेन क्षेत्रको मतदान केन्द्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका च्यातेर बुथ कव्जा गर्दै मतपेटिकामा केमिकल हाल्ने प्रयास गरेपछि झडप भएको एनआरएनए बेल्जियमको निर्वाचन समितिले जनाएको छ।

आक्रमणकारीले निर्वाचन बुथ कव्जा गर्ने क्रममा शारदा अर्याल, मुना केसी, पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक हमला गरी घाइते बनाएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘आन्त्र्वोपेन क्षेत्रमा लगभग ४.४५ बजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई च्यातेर भुईमा छरपष्ट पार्दै बुथ कव्जा गरी मतपेटिका कव्जा गर्ने प्रयास गरियो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित एनआरएनए सदस्यहरुले प्रतिकार गर्न जाँदा उनीहरूमाथि सांघातिक आक्रमण भएको छ।’

आक्रमणकारीले निर्वाचनका निर्वाचन आयुक्त लोकप्रसाद दाहाल र वर्तमान अध्यक्ष चित्र सुवेदीलाई समेत कुटपिट गरेका थिए।

निर्वाचन आयुक्त लोक दाहाल, सदस्य सचिव शिवकुमार वरुवाल, क्षेत्रीय निर्वाचन संयोजक पवन सुवेदीद्वारा जारी संयुक्त विज्ञप्तिमा आक्रमणकारीहरुको पहिचान गर्न बेल्जियमको प्रहरी प्रशासनसमक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुटेजहरु बुझाइ सकिएको जनाइएको छ।

बेल्जियममा अध्यक्षको लागि अनुजा प्रधान, खड्क केसी, सीपी भट्ट चुनावी मैदानमा छन्। अध्यक्षकी प्रत्यासी अनुजा प्रधानले अध्यक्षका अर्का प्रत्यासी सीपी भट्टको समूहले मतदान केन्द्रमा आक्रमण गरेको बताइन। निर्वाचनमा पराजित हुने पक्का भएपछि भट्टले चुनाव विथोल्न विदेशी गुण्डाको प्रयोग गरेको आरोप छ । भट्ट नेपाली जनसम्पर्क समितिसहित ५ राजनीतिक दलको समर्थनमा उम्मेदवार बनेका थिए।

अध्यक्षकी प्रत्यासी प्रधानले एनआरएनए निर्वाचनमा भएको घट्नाले नेपाली समुदायको सुरक्षामाथि नै प्रश्न उठेको बताउँदै घट्नाको गम्भिर छानबिन गरेर दोषीमाथि कार्यबाहीको माग गरेकी छन्।

गैरआवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा बेल्जियमस्थित ७ वटै निर्वाचन क्षेत्रहरुमा निर्धारित समय विहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचन आयुक्त लोक दाहालले सबै क्षेत्रबाट प्राप्त मतपेटीका अहिले निर्वाचन समितिको अनुगमनमा सुरक्षित स्थानमा रहेको जानकारी दिए। उनले मतगणनाको प्रकृयाको बारेमा उम्मेदवारहरुबीच छलफल गरेर निर्णयमा पुग्ने बताए।

 



No ads found for this position