प्रवासी नेपाली फुटाउन लागेको भन्दै कांग्रेसप्रति एनआरएनए अध्यक्ष पन्तको खेद

प्रवासी नेपाली फुटाउन लागेको भन्दै कांग्रेसप्रति एनआरएनए अध्यक्ष पन्तको खेद

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपाली कांग्रेसले संघमा राजनैतिक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्।

उनले संघ जस्तोविशुद्ध सामाजिक संस्थामा कांग्रेसले राजनैतिक रङ मिसाउन खोज्नु गैरआवासीय नेपालीलाई मात्रै नभइ सिंगो नेपाल राष्ट्रलाई नै बेफाइदा हुने बताएका छन्।

पन्तले जर्मनीबाट प्रवास खबरसँगको टेलिफोन सम्पर्कमा भने, ‘देशको पुरानो प्रजातन्त्रीक पाटीले यस्तो सर्कुलर जारी गर्दा हामी दुखी भएका छौँ । एक सुत्रमा बाँधिएर बसेका नेपालीबीचको सद्धभावलाई खलबल्याउने प्रयास गरिएको छ, यो हामी मात्र नभएर देशकै लागि दुर्भाग्य हो ।’

बिहीवार नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादूर खड्काले प्रवास विभाग संगठन जनसम्पर्क समितिलाई सर्कुलर जारी गर्दै संघको आशान्न निर्वाचनमा आफ्नो पाटी निकटका उम्मेदारलाई जिताउन निर्देशन गरेका थिए। खड्काले जारी गरेको सर्कुलरमा एनआरएनएमा लोकतन्त्रवादीको नेतृत्व सुनिश्चत गर्न विश्वभरका कांग्रेसीहरु एकजुट हुनुपर्ने भन्दै मिलेर अघि बढ्न आग्रह गरिएको छ।

केन्द्रीय नेतृत्वबाटै राजनैतिक हस्तक्षेप गरिएको भन्दै अध्यक्ष पन्त आक्रोशित भएका हुन् । ‘एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा राजनैतिक रङ मिसाएर विदेशमा बसेका नेपाली फुटाउन खोज्दा साह्रै दुख लागेको छ,’ पन्तले भने, ‘यो एकदमै अस्वभनीय कार्य हो । हामी यसको घोर भत्र्सनासहित विरोध गर्दछौँ ।’ उनले यसबारे संघले आजै औपचारिक वक्तव्य जारी गर्न लागेको बताए।

पन्तले एनआरएनए देशको सामाजिक तथा आर्थिक विकासमा हातेमालो गर्ने संस्था भएको बताउँदै आफूहरुले राजनैतिक दलसँग कुनै सरोकार नराख्ने बताए । ‘एआरएनएमा राजनीति प्रभाव हुनुहुँदैन, हाम्रो विधानमै प्रष्ट छ। यो विशुद्ध सामाजिक संस्था हो। त्यसैले यहाँ राजनैतिक रंङ मिसाउन खोज्नेहरुप्रति खेद प्रकट गर्दछौं,’ पन्तले भने ।

एनआरएनए देशभित्र परोपकारी काम गर्ने संस्था भएकोले जुनसुकै दलका मान्छे सरकारमा आएपनि आफूहरुले उनीहरुलाई सहयोग गर्दै आएको पन्तले बताए।

एनआरएनएले आफूलाई विशुद्ध गैरराजनीतिक संस्था दावी गर्दै आएपनि संस्थाका गतिविधि र पदाधिकारीको राजनीतिका कारण पछिल्लो समय संघ विवादमा पर्दै आएको छ।